काठमाडौं– नेपाली कांग्रेसले नेकपा सरकारको विदेश नीति नीतिगत रुपमा नै विचलित रहेकाले कुटनीतिक विश्वसनियता खस्केको टिप्पणी गरेको छ। यस्तै, आफू नेतृत्वको सरकार आएपछि भने अन्तर्राष्ट्रिय रुपमा उल्लेखनीय उपलब्धी हासिल गरेको कांग्रेसले दाबी गरेको छ। शनिबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त कुरा उल्लेख गरेको हो।
‘पूर्ववर्ती सरकार अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा नीतिगत रूपमा नै विचलित भएका कारणले नेपालको कुटनीतिक विश्वसनियता खस्किएको थियो,’ घोषणापत्रमा भनिएको छ, ‘तर देउवा सरकारले राष्ट्रहितलाई सर्वोच्च प्राथमिकता दिँदै असंलग्न परराष्ट्र नीतिका आधारमा स्वतन्त्र र सन्तुलित विदश नीति अख्तियार गरेपछि अन्तराष्ट्रिय सम्बन्धका दृष्टिले उल्लेखनिय उपलब्धी हासिल भएको छ।’
यस्तै नेपाली कांग्रेसले चीन सरकारसँग हस्ताक्षर गरेको बीआरआई परियोजना राष्ट्रिय आवश्यकताका आधारमा लागू गर्ने प्रतिबद्धता जनाएको छ। तर अमेरिकी परियोजना एमसीसी पारित गरेर भने नेपालप्रति दातृनिकायको विश्वास अभिवृद्धि भएको कांग्रेसले दाबी गरेको छ।
‘विश्वव्यापी रुपमै विकास अनुदानको मात्रा र अंश घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा एउटा रुपान्तरणकारी परियोजनाका लागि नेपालकै इतिहासमा आएको सबैभन्दा ठूलो अनुदान रकम (५० करोड अमेरिकी डलर) बृहत् राजनीतिक सहमति कायम गर्दै विधिवत स्वीकार गरेकाले नेपालप्रति दातृनिकायको विश्वास अभिवृद्धि भएको छ,’ कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ।
यता, कांग्रेसले भारत र चीनसँग रहेको सीमा विवाद कुटनीतिक माध्यमबाट हल गरिने प्रतिज्ञा गरेको छ। ‘भारतसँग भएका सीमा विवाद सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा कुटनीतिक प्रयासबाट समाधान गरिने छ। त्यस्तै चीनसँग हुम्ला जिल्लाका उत्तरी सीमामा देखिएको विवाद कुटनीतिक प्रयासबाट समाधान गरिने छ,’ कांग्रेसको घोषाणापत्रमा उल्लेख गरेको छ।
यस्तै, नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीतिका लागि १२ वटा सिद्धान्त अघि सारेको छ। राष्ट्र हित र राष्ट्रिय स्वार्थको संरक्षण तथा सम्वर्द्धन, राष्ट्रिय सुरक्षा, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्ति तथा सहअस्तित्व जस्ता मार्गनिर्देशक नीति अनुसरण गरी स्वतन्त्र र सन्तुलित नीति विदेश नीति अख्तियार गर्ने उल्लेख गरिएको छ।
कांग्रेसले भौगोलिक दृष्टिले देशहरू ठूलो वा सानो भए पनि, आर्थिक दृष्टिले विपन्न वा समृद्ध भए पनि तथा सैन्य दृष्टिले शक्तिशाली वा कमजोर जे भए पनि सार्वभौमिकताका दृष्टिले सबै देशहरू समान हुने भएकाले सार्वभौम समानताको सिद्धान्तको आधारमा विदेश नीति तर्जुमा गर्ने प्रतिज्ञा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।