एजेन्सी– उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो उक्त होटलमा २३४ पाहुना थिए।
आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए। होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो। अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो।
आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो। त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो। स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन।
टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन्। उनले यो घटनाबाट सरकार दुःखी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।