काठमाडौं– झापामा एक पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका छन्। गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुल अगाडि ती पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका हुन्।
आत्महत्या गर्ने गौरादह–८ का बिरन साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनले सुरुमा आफ्ना भतिजालाई गोली प्रहार गरेको र पछि आफूसँग भएको पेस्तोलबाट कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन्।
गोली लागेर गम्भीर घाइते १४ वर्षीय बालक हेमराज साहलाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको प्रहरीले जानकारी दिएको छ।
आत्महत्या गरेका बिरन साह पूर्व प्रहरी रहेको बुझिएको छ। घटनाको कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार बिरन साह हेमराजलाई गोली प्रहार गरेपछि फरार भएका थिए।
खोजतलास गर्ने क्रममा घरभन्दा एक सय मिटरको दूरीमा उत्तर सुकुना खोला किनारमा कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।
घटनास्थलबाट एक थान कटुवा पेस्तोल, म्यागजिन थान २, गोलीको खोका १ थान र १५ राउण्ड गोली फेला परेको र सो घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पाठकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।