आज अक्टोबर ११ अर्थात् ११ औं बालिका दिवस हो। आजका दिनमा विश्वभरी नै बालिकाहरुलाई पद हस्तान्तरण गरेर नेतृत्वदायी भूमिकाका लागि प्रेरित गरिएको छ। बर्दिया जिल्ला घर भएकी म त्यही कार्यक्रम अन्तर्गत काठमाडौं आइपुगें। विगत दुई वर्षदेखि किशोरकिशोरीको सशक्तिकरणका लागि सामाजिक सेवामा सक्रिय मैले सञ्चारमाध्यमको सम्पादकका रुपमा एकदिनको अनुभव हासिल गरें।
नेपाल लाइभ ग्रुपको सम्पादकका रुपमा केही घण्टा समय बिताएँ। कुनैदिन महिनावारी हुँदासमेत लजाउने म एक सम्पादकका रुपमा अनुभवी पत्रकारहरुसँग थिएँ। केही क्षणका लागि भएपनि उहाँहरुको नेतृत्व गरिरहेकी छु भन्ने अनुभूतिले मलाई गौरवान्वित महसुस गरायो।
एकदिनका लागि सम्पादकीय नेतृत्व मलाई हस्तान्तरण गरिँदैछ भन्ने कुराले मेरो मनमा अनेक प्रश्न उब्जिएका थिए। नयाँ अनुभव लिँदै थिएँ। नयाँ विषयबारे जानकारी पाउँदै थिएँ। यसले मलाई उत्साहित बनाएको थियो।
बालिकाको सशक्तिकरणमा अभियान चलाइरहेको संस्था, प्लान नेपाल, की दीपा ओलीसँग म अनामनगरस्थित नेपाल लाइभ समूहको कार्यालयमा पुगेकी थिएँ। नेपाल लाइभ, नेपाल लाइभ टुडे (अंग्रेजी) र स्वास्थ्यखबर पत्रिका उक्त मिडिया हाउसले प्रकाशन गरेको जानकारी मलाई नेपाललाइभ टुडेका सम्पादक शिरोमणि ढुंगानाले दिनुभएको थियो।
कार्यालय पुग्ने बित्तिकै मलाई फूलको गुच्छा र खादा लगाएर स्वागत गरियो। त्यसपछि कार्यालयमा प्रवेश गराइयो र सम्पादकको कुर्सीमा राखियो। म कार्यालय पस्दै गर्दा सबै पत्रकारहरु काममा व्यस्त रहेको देखिन्थे। पछि जानकारी पाएँ, मंसिर ४ को निर्वाचनका कारण भ्याइनभ्याइ रहेछ। मलाई बिहान ११ बजे सम्पादक बनाइएकको थियो र त्यो समय उक्त मिडिया हाउसको दैनिक बैठक बस्ने रहेछ।
मैले सम्पादकीय नेतृत्व लिँदै गर्दा समाचार संकलन, छनोट र सम्पादनबारे ज्ञान थिएन। समाचारको पाठक मात्रै रहेकी मलाई सम्पादकीय नेतृत्व दिएर यी प्रक्रियाबारे जानकारी दिइयो। मसँग समाचारका यी प्रक्रियाबारे धेरै जिज्ञासा थिए। एकदिनको सम्पादकको अनुभवबाट म स्पष्ट भएकी छु।
आवाजविहीनको आवाजका रुपमा बुझिने सञ्चारमाध्यममा पुगेर बालिका र महिलाका मुद्दामा छलफल गर्यौं। आम निर्वाचनको प्रक्रिया चलिरहेकाले महिलाहरुको संसद्मा उपस्थितिलाई लिएर चासो थियो। त्यसमा मिडियाले कसरी आवाज उठाइरहेका छन् भन्ने विषयमा मैले केही प्रश्न गरें। मलाई नेतृत्व दिने संस्था यो विषयमा संवेदनशील रहेर पहिलेदेखि बहस गर्दै आइरहेको पाएँ। त्यससँग सम्बन्धित केही विषयमा म सम्पादक भएकै दिनपनि समाचार बनाइए। म आफैंलाई पनि आफ्नो तर्फबाट आवाज बुलन्द गर्न पाएको महसुस भयो।
गाउँमा जन्मे हुर्केकी भएपनि सानैदेखि मैले घरमा टेलिभिजन हेर्न पाएँ। रेडियो पनि सुनें। पत्रपत्रिका भने गाउँसम्म त्यति पुग्दैनथे। त्यसैले नियमित पढेको अनुभव छैन।
म आफ्नो गाउँपालिकाकाे बालबालिका समूहको अध्यक्ष हुँ। त्यसैले गाउँमा हुने बालविवाह, किशोरकिशोरीका समस्यालाई नजिकबाटै नियालेकी छु। ती विषयमा आवाज उठाएकी छु। मिडियाले त्यस्ता विषय प्राथमिकताका साथ उठाइदिए हुन्थ्यो भन्ने मलाई लागेको छ।
मैले सांकेतिक रुपमा प्राप्त गरेको सम्पादकीय भूमिकाले मलाई गौरवबोध मात्रै होइन, थप जिम्मेवारी महसुस गराएको छ। अन्याय र विभेदकाविरुद्ध आवाज उठाउने हौसला मिलेको छ।
आजका किशोरी नै भोलि देशको नेतृत्वदायी भूमिकामा पुग्नेछौं। भोलि गर्नुपर्ने नेतृत्वको अनुभव आजबाटै गर्न पाउने अवसर सवै किशोरकिशोरीले पाउनुपर्छ। जसले गर्दा देशले कुशल नेतृत्व पाउन सम्भव हुन्छ। त्यसकारण सबै क्षेत्रले हामीलाई प्राथमिकतामा राखेर अवसर दिऊन् भन्न चाहन्छु। बालबालिका तथा किशोर र किशोरीको सशक्तिकरणमा सर्वपक्षीय भूमिकाका लागि आह्वान गर्न चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।