अटोवा (जीएनएन)– नेपालले क्यानडा सरकारलाई नेपालको जलविद्युत् विकासमा थप सहयोग गर्न आग्रह गरेको छ।नेपाल र क्यानडाबीच बिहीबार अटोवामा भएको तेस्रो नेपाल–क्यानडा द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले त्यस्तो आग्रह गरेका हुन्।
रसुवा जिल्लामा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाका लागि क्यानाडा सरकारले एसियाका निजी क्षेत्रको लागि ‘क्यानडियन क्लाइमेट फन्ड’ मार्फत् सहयोग प्रदान गरेको थियो।
यसैगरी नेपालले क्यानडा सरकारलाई काठमाडौंमै भिसा कार्यालय खोल्नका लागि आग्रह गरेको छ। बैठकमा नेपाली टोलीको नेतृत्व गरेका परराष्ट्र सचिव पौड्यालले क्यानडामा नेपालीहरुको संख्या बढिरहेको तथा दुई मुलुकबीच जनता–जनता बीचको सम्बन्ध पनि बढिरहेको उल्लेख गर्दै क्यानडालाई काठमाडौंमै भिसा कार्यालय खोल्नका लागि आग्रह गरेको अटोवास्थित नेपाली दूतावासले जनाएको छ। नेपालीहरूले अहिले क्यानडाको भिसाका लागि नयाँ दिल्लीमा आवेदन पठाउनु पर्छ।
नेपाली टोलीमा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानासहित अन्य सदस्य थिए। बैठकमा क्यानडाको तर्फबाट विश्व मामिला सम्बन्धी सहायक उपमन्त्री पल थोपिल नेतृत्वको टोलीले भाग लिएको थियो।
नेपाली राजदूतावास क्यानडाका अनुसार उक्त संयन्त्रको बैठकमा दुवै पक्षले द्वीपक्षीय चासोका विषयहरू विकास सहकार्य, व्यापार र लगानी, शिक्षा, संस्कृति, पर्यटन, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेका थिए।
बैठकमा परराष्ट्र सचिव पौड्यालले कोभिड महामारीको समयमा खोप लगायत अन्य अत्यावश्यक चिकित्सा उपकरण तथा सहयोग प्रदान गरेकोमा क्यानाडा सरकारलाई धन्यवाद दिएका थिए।
बैठकमा डिसेम्बर २०२० मा बसेको नेपाल–क्यानडा द्वीपक्षीय परामर्श संयन्त्रको दोश्रो बैठक यता भएको प्रगतिको समिक्षा गरिएको थियो। संयन्त्रको अर्को बैठक सन् २०२४ मा काठमाडौँमा बस्ने दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।