काठमाडौं– काठमाडौं महानगरको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले पूर्णता पाएको छ।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको नवौं कार्यपालिका बैठकले सदस्यहरु चयन गरेर समितिलाई पूर्णता दिएको हो।
सेनिटरी प्याड वितरण शिक्षा क्षेत्रको कार्यक्रम हो। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ। यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुन्छ।
यसमा १ जना कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट २ जना सदस्य रहने व्यवस्था छ। यही व्यवस्थाका आधारमा कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, प्रधानाध्यापकहरुकातर्फबाट विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल र सरस्वती माध्यमिक विद्यालय, ओन्देका प्रधानाध्यापक रविना महर्जन चयन भएका हुन्।
कार्यक्रमका लागि संघीय सरकारले बजेटको व्यवस्थापन गर्छ। महानगरका सामुदायिक विद्यालयहरुमा ०७६ सालबाट प्याड वितरण सुरु भएको हो।
शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार कक्षा ५ देखि कक्षा १२ सम्मका छात्राको अनुपातमा अनुदान दिएर कार्यक्रम थालिएको थियो।
प्याड प्राप्त गर्न महानगरले २०७७ सालमा बोलपत्र आव्हान गरेको थियो। निर्देशिकाको मापदण्डअनुसार सामान प्राप्त हुन नसकेपछि बोलपत्र रद्द गरियो। २०७८ सालमा पुनः बोलपत्र गरियो। यसमा ०७७ सालमा सामानको गुणस्तर नपुगेर रद्द गरिएको प्रतिस्पर्धीले अदालत गएर मुद्दा दायर गरेपछि प्रक्रियामा वाधा सिर्जना भयो।
चालू आर्थिक बर्षका लागि समितिले काम गर्नेछ। सुवेदीकाअनुसार काठमाडौं महानगरमा मासिक करीव १८ हजार छात्रालाई प्याड आवश्यक पर्छ।
बैठकमा महानगरका प्रमुख शाहले, डेङ्गी नियन्त्रणका गर्न सबै वडाका टोलटोलमा गएर पानी जम्ने खाल्टा पुर्ने, लार्भा नष्ट गर्ने, लक्षण भएकालाई परीक्षण गर्ने, सिटामोल तथा जीवनजल वितरण गर्ने जस्ता काम भइरहेको जानकारी दिए।
‘संक्रमण नियन्त्रण गर्न रसायन तथा फगर गनको प्रयोग मागका रुपमा उठेका छन्। तर, यो विधि मानव स्वास्थ्य र वातावरण दुवैका लागि अनुपयुक्त भएकोले अगाडि बढाइएको छैन,’ प्रमुख शाहले भने, ‘डेङ्गी फैलाउने लामखुट्टे, यसको बासस्थान र प्रजनन प्रणाली नष्ट गर्नु, लामखुट्टेको टोकाइबाट बच्नु संक्रमण नियन्त्रणको मुख्य उपाय हो। यसका लागि हरेक व्यक्तिले सावधानी अपनाउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।