काठमाडौं– काठमाडौं महानगरपालिकाको अपाङ्ग परिचयपत्र वितरण समन्वय समितिले परिचयपत्र वितरण गरेको छ।
समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको समितिमा पेस हुन आएका २२ जनाको निवेदनमध्ये १ वटा रातो (क वर्ग), ८ वटा नीलो (ख वर्ग) र ७ वटा पहेँलो (ग वर्ग) परिचय पत्र, १ वटा सेतो (घ वर्ग) गरी १७ वटा परिचय पत्र वितरण गरेको महानगरले जनाएको छ। ३ जना भने कागजपत्र नपुगेर फर्किएको महानगरले जनाएको छ।
समितिमा निवेदनका साथ पेस भएका कागजपत्रहरुको मूल्यांकनपछि कार्डको प्रकृति निर्धारण गरिएको थियो। शारीरिक अस्वस्थ्यता सम्बन्धी चिकित्सकबाट गरिएको परीक्षण सम्बन्धी कागजलाई हाडजोर्नी विशेषज्ञ डा. शिरिष अधिकारी र मनोचिकित्सक डा. प्रतीक योञ्जनले मूल्यांकन गरेका थिए। उनीहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत छन्।
प्रमाण पत्र वितरणपछि समितिकी संयोजक एवं उपप्रमुख डंगोलले, बोर्डर लाइन नजिक भएका बिरामीलाई दुवै खालको परिचय पत्र दिन सकिने अवस्थामा उनीहरुलाई कसरी सम्बोधन गर्ने? विषय संवेदनशील रहेको बताएकी छन्।
‘यस्तो बेला रातो कार्ड पाउनुपर्ने व्यक्तिलाई नीलो र नीलो कार्ड दिनु पर्ने व्यक्तिलाई रातो कार्ड पर्न सक्छ। यस्ता केही अवस्थाहरु छन्। जसलाई नीतिगत प्रबन्धबाट सम्बोधन गर्नुपर्छ’, उनले भनिन्, ‘त्यसैले अब सामाजिक सुरक्षालाई वैज्ञानिक र व्यवस्थित गर्न आवश्यक नीतिगत सुधारका लागि काम गर्नु पर्ने बेला आएको छ। यसपछि भावनाले होइन, तथ्यले अवस्थालाई प्रमाणित गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।