काठमाडौं– सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले सात दिनभित्र बटुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने बताइएको छ।
गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो। सशस्त्र प्रहरी मुख्यालयका अनुसार कार्य तथा सीमा सुरक्षा विभागलाई अलग-अलग पारिएको छ। यसअघि उक्त विभाग एउटै थियो।
यसअघि सशस्त्र प्रहरीमा दुई जना अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी रहेकोमा अब तीन पुगेको छ।
दाहालको ब्याचमेटबाट राजु अर्याल महानिरीक्षक बनेका थिए। त्यही ब्याचबाट यसअघि अतिरिक्त प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम (सीपी) बढुवा भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।