बागलुङ– बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ। जिल्लामा डेंगुका लक्षण भएका बिरामीकोसमेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पर्याप्तरूपमा डेंगु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शंकास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ।
जिल्लामा यस वर्षको अहिलेसम्म ३५ जनामा डेंगु संक्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिए।
‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रामा किट आएको छ भने थप आउने क्रम जारी छ। तर, डेंगुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ’, उनले भने, ‘अहिले डेंगुका लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शंकास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत् परीक्षण गर्ने गरिएको छ।’
स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ। जिल्लामा डेंगु रोगको लक्षणसहितका बिरामीको संख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए।
‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गटा लाग्ने बिरामीको संख्यामा वृद्धि भएको छ, तर सबैमा डेंगु संक्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शंकास्पदको किटको माध्यमबाट डेंगु परीक्षण गरेका छौं’, उनले भने, ‘अस्पतालले पछिल्लो भदौ महिनासम्म डेंगुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ।’
डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ। लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ। यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ।
डेंगु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ। अहिले सहरी क्षेत्रमा डेंगु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।