विराटनगर– जनता समाजवादी पार्टी मोरङले क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादवसहित पाँच जनाको नाम सिफारिस गरेको छ। यसअघि यादवको नाम सप्तरी, सिराहा र बाराबाट समेत सिफारिस भइसकेको छ।
उम्मेदवार सिफारिस समितिको बिहीबार बसेको बैठकले अध्यक्ष यादवसहित प्रदेश १ का स्वास्थ्यमन्त्री रहेका जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्शीद हविब इराकीको नाम सिफारिस गरेको हो।
बैठकले क्षेत्र नम्बर ५ (क) बाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फ पन्नालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाई र प्रदेश (ख) मा जयराम यादव, अमृत महतो, दिनेश साह र मन्तलाल यादव लगायतको नाम सिफारिस गरेको जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य एवं केन्द्रीय सदस्य सञ्जय सिंहले जानकारी दिए।
मुख्य गरि नेपाली कांग्रेस र जनता समाजवादीको पकड क्षेत्र भनिएको उक्त क्षेत्रबाट २०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार विजयी भएका थिए। प्रतिनिधि सभामा माओवादी केन्द्रका शिवकुमार मण्डल र प्रदेश सभा (क) मा एमालेका ज्ञानेश्वर राजवंशी विजयी भएका थिए।


प्रदेशसभा (ख) मा भने जसपाका जयराम यादवले जितेका थिए। तर, यसपटक वाम गठबन्धन भत्किएसंगै मुख्य गरि कांग्रेस र जसपाले उक्त क्षेत्रमा दाबी गरेका छन्। सत्तागठबन्धनमा संगै रहेको र अघिल्लो चुनावमा पनि आफ्ना उम्मेदवारले जितेको भन्दै माओवादी केन्द्रले पनि उक्त क्षेत्र अरुलाई छोड्न नसक्ने अडान राख्दै आएको छ। २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले २२ हजार ९ सय ४५ मत पाएर जितेका थिए। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत अर्यालले १९ हजार १सय ५३ र जसपाका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत पाएका थिए।
प्रमुख ३ दलका उम्मेदवारले प्राप्त गरेको मतमा खासै ठूलो अन्तर छैन। एमाले र माओवादी टुक्रिदा तत्कालीन वाम गठबन्धनको मत कांग्रेस र जसपाभन्दा निकै कम हुने देखिन्छ।
भागबण्डामा माओवादीले उक्त क्षेत्र पाए पुन: शिवकुमार मण्डल नै उम्मेदवार हुनेछन्। एमालेले योगेन्द्र मण्डललाई प्रतिनिधीसभा सदस्यमा उठाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।