विराटनगर– मोरङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरेको छ।
क्षेत्रीय सभापति नागेश्वरप्रसाद सिंहका अनुसार बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले रिजाल र सुजाता दुवै जनाको नाम सिफारिस गरी पार्टीको माथिल्लो तहमा पठाउने निर्णय हो।
सो क्षेत्रबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ अब्दुल रहिम, गोपालमानसिंह राजभण्डारी, मोहन इंगनाम, तारादेवी गनगाइ, कर्णबहादुर याख्खालगायतको नाम सिफारिस गरिएको जानकारी दिइएको छ।
२०७४ को चुनावमा मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. २ मा मात्र कांग्रेसले जितेको थियो। उक्त चुनावमा डा. मीनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए। त्यसअघि २०७० मा भएको संविधानसभाको दोस्रो चुनावमा कांग्रेसकी सुजाता कोइराला उनै पोखरेलसँग पराजित भएकी थिइन्। एमालेले यसपटक पनि पोखरेललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ।
उक्त क्षेत्र नेपाली कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्र हो। आफ्ना बाबुको चुनावी क्षेत्रमा कोइराला पुत्री सुजाताले आँखा लगाएकी हुन्। गिरिजाप्रसाद कोइरालापछि आमोद उपाधयायले उक्त क्षेत्रमा चुनाव लडेका थिए।
प्रत्यक्षतर्फ सिफारिसमा परेकी सुजाता समानुपातिक सांसद हुन्। पार्टीले अघिल्लो चुनावमा समानुपातिक उम्मेदवार भइ निर्वाचित भएकाहरुलाई पुन: समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने निर्णय गरेपछि सुजाताले प्रत्यक्ष चुनाव लडने तयारी गरेकी हुन्।
कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाएकी थिइन्। आफ्नै परिवारका सदस्य डा. शेखर कोइराला सभापतिका प्रत्यासी हुँदा समेत प्रकाशमान सिंहको प्यानलमा रहेर सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा उनले देउवालाई सघाएकी हुन्। डा. रिजाल कोइराला समूहबाट महामन्त्री पदमा उम्मेदवार भएका थिए। तर चुनावमा पराजय भोगेपछि उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए। सुजाताको प्रत्यक्षतर्फ चुनाव लड्ने चाहनासँगै उक्त क्षेत्रमा रिजाल र कोइरालामध्ये कस्ले टिकट पाउलान् भन्ने अड्कलबाजी शुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।