काठमाडौँ- प्रदेश नम्बर २ मा निर्वाचनको तयारी बुझ्नका लागि निर्वाचन आयोगबाट उच्चस्तरीय अनुगमन टोली खटिएको छ।
आयोगका आयुक्तहरुले १ सय ३६ स्थानीय तहमा निर्वाचनको तयारीबारे अनुगमन गर्ने भएका हुन्। प्रदेश २ मा आठ जिल्ला रहेका छन्। चार आयुक्तले दुई-दुई वटा जिल्लाको अनुगमन गर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले इला शर्मालाई धनुषा र महोत्तरीको अनुगमन गर्ने जिम्मा दिएको छ। यस्तै अर्का आयुक्त नरेन्द्र दाहालले रौतहट र सर्लाहीको अनुगमन गर्नेछन् भने आयुक्त ईश्वरीप्रसाद पौड्यालले सप्तरी र सिराहमा निर्वाचनको तयारीबारे आयोगलाई जानकारी गराउनेछन्। 'दुई नम्बर प्रदेशमा निर्वाचनको तयारी र निर्वाचन गराउन चुनौती केके छन्, ती विषय बुझ्न उहाँहरु अनुगमनमा जानुभएको हो,' आयोगका प्रवक्ता नवराज ढकालले भने।
आयुक्तहरुले जिल्लास्थित निर्वाचन कार्यालयका प्रमुख, राजनीतिक दलसँग छलफल र अन्तरक्रिया गरी निर्वाचनको तयारीबारे जानकारी लिने आयोगका प्रवक्ता ढकालले बताए। यस्तै बाढीबाट क्षतिग्रस्त सडक, पुलको मर्मतको अवस्था, क्षतिग्रस्त मतदानस्थल र केन्द्र लगायतको अस्थाको अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रवक्ता ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।