काठमाडौं- अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको जनाइएको छ। 'जवाहिरीले अमेरिकी नागरिकहरूविरुद्ध हत्या र हिंसाको ट्रेल कोरेका थिए' वाइडेनले भने, 'अब न्याय दिइएको छ र यी आतंकवादी नेता रहेनन्।'
अधिकारीहरुले जनाए अनुसार जवाहिरी एक सुरक्षित घरको बार्दलीमा रहेको बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो। परिवारका अन्य सदस्यहरू त्यहाँ उपस्थित भए पनि उनीहरुलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको उनीहरुको भनाइ छ।
अमेरिकी राष्ट्रपति वाइडेनले ७१ वर्षीय अल-कायदा नेतामाथि 'सटीक आक्रमण' का लागि अन्तिम स्वीकृति दिइएको बताए।
सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए। उनी र लादेनले मिलेर ९/११ आक्रमणको योजना बनाएका थिए र उनी अमेरिकाका 'मोस्ट वान्टेड आतंकवादी' मध्ये एक थिए। अल-कायदा नेताको हत्याले २००१ आक्रमणका पीडित परिवारहरूलाई नजिक ल्याउने वाइडनको भनाइ छ।
जवाहिरीले हत्या र हिंसाका अन्य कार्यहरुको पनि योजना बनाएको वाइडेनको आरोप छ। २००० को अक्टोबरमा अडेनमा युएसएस कोल नौसेना विनाशकमा आत्मघाती बम विष्फोटसहित १७ अमेरिकी नाविकको मृत्युसहितका हिंसाको जवाहिरीले योजना बनाएको वाइडेनको भनाइ छ।
अफगानिस्तानमा सत्ताको वागडोर सम्हालिरहेको तालिबानले भने अमेरिकी कारबाही अन्तर्राष्ट्रिय सिद्धान्तको उल्लंघन भएको बताएको छ। तालिबानका प्रवक्ताले अमेरिकी कारबाही अन्तर्राष्ट्रिय सिद्धान्तको स्पष्ट उल्लंघन भएको बताए।
'यस्ता कार्यहरू विगत २० वर्षको असफल अनुभवहरूको पुनरावृत्ति हो र यो संयुक्त राज्य अमेरिका, अफगानिस्तान र क्षेत्रको हित विरुद्ध हो,' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।