नयाँ दिल्ली–भारतको केरलामा मृत्यु भएका एक युवकमा मंकीपक्स संक्रमण पुष्टि भएको छ।
हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको थियो। उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा मंकीपक्सको भाइरस भेटिएको केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरिन्।
संक्रमण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ।
केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।
विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत महिना यसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।