काठमाडौं– रुपन्देहीमा कालिज मार्न भन्दै जंगल लगेर १ जनालाई आफ्ना साथीको हत्या गरेको खुलेको छ। हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भइ रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्र गौतम छन्।
गौतमलाई उनकै साथी अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भइ रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
साउन ९ गते पाण्डे आफ्ना साथी गौतमसँग लु १ ख ७७९१ नम्बरको ट्रक पास गर्न भन्दै गएका थिए। त्यही दिनदेखि पाण्डे सम्पर्कबिहीन भएपछि उनका आफन्तले खोजी गर्न भन्दै साउन ११ गते प्रहरीकोमा जाहेरी दिएका थिए। खोजतलास गर्ने क्रममा साउन १४ गते दिउँसो ३ बजेतिर अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सिद्ध सामुदायिक जंगलमा पाण्डेको शव भेटिएको थियो।
पाण्डेको हत्या गरेको आरोपमा गौतमलाई साउन १५ गते नेपाल–भारत सी बेलहियाबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा गौतमले पाण्डेको नाममा रहेको उक्त ट्रक १६ लाखमा किनेको र नामसारी गर्नेबित्तिकै पैसा बुझाउने भनिए पनि पैसा नबुझाएपछि विवाद भएको थियो। सोही विषयलाई लिएर गौतमले कालिज मार्न जाउँ भन्दै पाण्डेलाई जंगलमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
हत्यामा प्रयोग भएको फलामको रड समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका गौतमविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।