फुङ्लिङ– विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन्। ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उनी विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिन्छन्। खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ।
उनी विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो। असारे झरीमा लुथ्रक्कै भिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्थे र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थे।
जुनेली रातमा पानीको कुलो फर्काउन खेतमा पुग्थे। उमेरले ६५ वर्ष पुगेका छन्। हुर्किएकी तीन बहीनी छोरी विवाह गरेर गइसके। परिवार घट्दै गयो। खेतबारी पनि बाँझो हुँदै गयो।
विगतमा ८० मुरीदेखि ९० मुरी धान फल्ने उनको खेतबारीमध्ये धेरैजसो अहिले बाँझो हुन पुगेको छ। 'पहिले त बेठी लगाएर नौमती बाजासहित धान रोप्थे, तर अहिले कसैले बेठी लगाउँदैन। विस्तारै खेतीपाती गर्न छोड्दै गए। बरु खेतबारी बाँझो राखेर विदेशतिर जाने बढ्दै गयो,' याक्सो भन्छन्।
फक्ताङलुङ गाउँपालिका–२ खेजिमिका दिलकुमार पतङवा विगत तीन वर्ष अगाडिसम्म जेठ–असारमा खेतबारीमा हिलोले लत्पतिएर खेतको आली लगाउँथे। पहिले धानखेतमा गोरु नार्दै भेटिने उनी अहिले अलैँची बगानमा अलैँचीका बोट स्याहार्दै गरेको भेटिन्छन्।
पहिले धान फल्ने खेतमा अहिले उनले अलैँची लगाएका छन्। केही वर्ष अगाडि ३० मुरी धान फलाउँदै आएका पताङवा अहिले भने एक दाना पनि फलाउँदैन। धान रोप्ने खेतबारीहरुमा सुन्तला, किबी, कफी र अलैँचीजस्ता फूलदेखि नगदे बाली लगाउन थालेको ३ वर्ष भयो। गाउँ–गाउँमा सडक खन्ने काम सुरु भएसँगै खेतमा धान रोप्न छोडेर अलैँची तथा अन्य खेतीपाती गर्न तिर लागेको पताङवाको भनाइ छ।
'सडकले गाउँका खेतबारी चिराचिरा बनाएको छ। बर्खाको समयमा घरमा बस्नसमेत जोखिम छ। यस्तो समयमा खेतमा झन पानीको कुलो लगायो भने गाउँ पहिरोको उच्च जोखिम हुन्छ। त्यसैले रुखको बिरुवासँगै अलैँची बगान लगाउन थालेको छु,' पताङवा भन्छन्, 'अलैंची एक पटक रोपेपछि ८/९ वर्ष रोप्नुपर्दैन, फल दिइरहन्छ। अलैँचीलाई शीतलता दिनका लागि रुख चाहिन्छ। रुख बिरुवा हुर्कायो भने पहिरो जानबाट रोकिन्छ।'
फक्ताङलुङ–६ मादिबुङ गाउँका सन्तकुमार फेम्बू पाँच वर्ष अगाडि गाउँकै सबैभन्दा धेरै धान फलाउनेमा पर्थे। गाउँका अधिकांश परिवार फेम्बुको खेतबारीमा धान रोप्न नपुगेको कोही पनि हुँदैनथ्यो, तर विस्तारै गाउँमा खेतमा काम गर्ने खेताला पाउनै छोड्यो। खेतालाको ज्याला पनि बढ्दै गयो। गाउँका युवा ऋण खोजेर विदेशिन थाले। खेतमा काम गर्ने ज्यालादारी पाउनै मुस्किल। त्यसपछि फेम्बुले खेतबारी मासेर अलैँची लगाउनुको विकल्प रहेन।
विगतमा असारमा धमाधम धान रोपाइँ हुने खेत अहिले अलैँची बगानमा परिणात भएका छन्।
सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकका चैतन्य इवारमको करिब १४ रोपनी खेतबारी अहिले बाँझोबारी हुन पुगेको छ। इवारम वैदेशिक रोजगारीमा जाए। उनको परिवार पनि सहरतिर बसाइँसराइ सरेर गएसँगै खेतबारी अहिले बाँझो छ।
इवाारमको मात्र होइन सिरिजङ्गा–४ तेल्लोक र आम्वेगुदिन क्षेत्रमा रहेको खेतबारी धेरै बाँझो हुन पुगेको सिरिजङ्गा–४का वडाध्यक्ष सिंहबहादुर लिम्बू बताउँछन्। गाउँलेमा अहिले विस्तारै खेतीपाती गर्ने बानी हराउँदै गएको वडाध्यक्ष लिम्बूको अनुभव छ।
'मान्छेहरु खेतबारीमा दुःख गरेर खान मान्दैनन्। कसरी हुन्छ सुखको खोजी गर्छन्। गाउँमा रहेका पनि सुख खोज्दै युवा विदेश जाने क्रम बढ्दो छ। गाउँदेखि सहरमा बसाइँ सर्नेको पनि लर्को उस्तै छ। गाउँका उर्बर जमिन बाँझो हुने क्रम बढ्दै गएको छ,' लिम्बू भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।