काठमाडौं– एएफसी एसियन कप २०१९ छनोट प्रतियोगिता अन्तर्गत ताजकिस्तानविरुद्ध खेलमा लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपालका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। समूह ‘एफ’अन्तर्गत नेपालले मंगलबार ताजकिस्तानविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
छनोट समूह 'एफ'का दुई चरणको खेल सकिँदा लगातार दुई खेलमा विजयी भएको फिलिपिन्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको यमनले ४ अंक जोडेको छ भने एक अंक जोडेर नेपाल तेस्रो स्थानमा छ। दुवै खेलमा पराजित ताजकिस्तानले अलिहेसम्म खाता खोल्न सकेको छैन। चार टोलीबीच होम एन्ड अवेका आधारमा हुने छनोटको शीर्ष दुई टोली सन् २०१९ को एसिया कपमा छनोट हुनेछन्।
'फ्रिकिक प्रहारमा अब्बल जर्जप्रिन्स'
नेपाली आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन्। डिफेन्डर आदित्य चौधरीले पुनरागमन गरेका छन्। उनी चोटका कारण केही महिना मैदानबाहिर थिए।
नियमित कप्तान अनिल गुरुङ राष्ट्रिय टोलीमा पर्न फेरि असफल भएका छन्। पछिल्लो पटक यमनविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट खेलेका अनिलले अन्तिम सयममा मैदान छिर्ने अवसर पाएका थिए।

यसअघि फिलिपिन्सविरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा पनि अनिललाई हटाइएको थियो। म्याच फिक्सिङको आरोपमा सागर थापामाथि आजीवन प्रतिबन्ध लागेपछि अनिलले नेपालको कप्तानी गर्दै आएका थिए। राष्ट्रिय टोलीमा परे पनि पछिल्ला प्रतियोगितामा अनिल पहिलो रोजाइमा पर्न संघर्षरत थिए।
पहिलो पटक राष्ट्रिय टोलीमा परेका जर्जप्रिन्स नेपाली सेनाका उपसेनानी हुन्। नेपाली सेनामा भर्ना हुनुअघि जर्जले फ्रेन्ड्स क्लबबाट राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्रिभुनव आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेका अनुसार जर्जप्रिन्स ‘पावर गेम’ खेल्न माहिर छन्। ‘खेलमा केन्द्रित हुन र कोचको रणनीति खेल्न सक्छन्। लामो दुरीबाट फ्रिकिक प्रहार गर्नमा पनि जर्जप्रिन्स अब्बल छन्,' जर्जको राम्रो पक्षबारे नवीन भन्छन्, ‘मेरो अनुभवमा प्रिन्सले प्रहार गरेका ९० प्रतिशत प्रहार उत्कृष्ट हुन्छन्।’
प्रिन्सले आर्मी क्लबबाट खेलेको पनि धेरै भएको छैन। अन्तरिक प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई आर्मीको टोलीमा प्रशिक्षणका लागि बोलाइएको थियो।
सर्लाहीमा भएको राजश्री कपमा पहिलो पटक आर्मीबाट खेलेका जर्जप्रिन्सले डेब्यु खेलमै २ गोल गरेका थिए। ‘नवयुग श्रेष्ठको अनुपस्थितिमा उनलाई टोलीमा स्थान दिइएको थियो,’ नवीनले भने, ‘२० मिनेट बाँकी रहँदा मैदान छिरेका उनले २ गोल गरेर आफूलाई प्रमाणित गरे।’ डेब्यु प्रतियोगितामै उनी उत्कृष्ट फरवार्डको ट्रफी जित्न सफल भए। त्यसयता जर्जप्रिन्सले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
यस्तो छ नेपाली टोली
गोलकिपर – किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर – विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ
मिडफिल्डर – सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।