विराटनगर– प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आइतबार प्रदेश सभामा बहुमतले पारित भएको छ। बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो।
यसअघि नेकपा(एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा १०० रुयैयाँ खर्च कटौती गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो।
प्रस्तावको पक्षमा बोल्दै सदस्य न्यौपानेले सरकारलाई अझ जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन खर्च कटौतीको प्रस्ताव गरेको बताएका थिए।
प्रस्तावको विषयमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकार सुशासनको पक्षमा रहेको बताए। उनले सरकार संसद्प्रति पूर्ण उत्तरदायी रहेको बताउँदै सरकारले प्रदेशको कार्यक्षेत्रभित्र नै बजेट खर्च गरिरहेको जानकारी दिए।
असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले आव २०७९/८० को लागि कूल ३९ अर्ब ७३ करोड ८३ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका थिए।
प्रदेशसभामा प्रस्तुत भएको बजेटमा लगातार प्रदेशसभा सदस्यहरुले छलफल गरेका थिए भने शनिबार नै सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।