काठमाडौं– पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लंघन गरेको आरोपमा पक्राउ गरेका २० जना भारतीय माझीलाई रिहा गरेको छ। बन्दरगाह सहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो।
आइतबार काराबासमुक्त भएका भारतीय नागरिक त्यहाँबाट पूर्वी सहर लाहोरको बस चढेर स्वदेश फर्केका छन् भने कराँचीका जेलमा अझै पनि दर्जनौं भारतीय माझी रिहाईको प्रतीक्षामा छन्। आइतबार रिहा भएकाहरूलाई सीमा नाका बागामा भारतीय अधिकारीहरूलाई सुम्पिइनेछ।
भारत र पाकिस्तानले बेलाबेलामा आफ्नो जलक्षेत्र पार गरेको आरोपमा एक अर्काका नागरिकलाई पक्राउ गर्दै आएका छन् भने द्विपक्षीय वार्तापछि केहीलाई प्रत्येक वर्ष रिहा पनि गर्दै आएका छन्।
काश्मिर मुद्दालाई लिएर विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन। भारतले सन् २०१९ को अगष्टमा काश्मिरको विशेष स्वायत्ततालाई एकतर्फीरुपमा खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।