'एमबीबीएस' को प्रवेश परीक्षा दिन धरान हिँडे, असोज अन्तिमतिर। म प्राय: यात्राहरूमा एक्लै पर्छु। मलाई एक्लो यात्रा गर्न मज्जा लाग्छ। सायद कर्म लेखिदिनेले 'एक्लो' लेखिदिएको पो छ कि!
निराश थिएँ म, एक्लो पनि। धरानका गल्लीहरू एक्ला थिएनन्। बरू बहुत व्यस्त थिए। परीक्षा सकेर धरानको भानुचोक पुग्नै लाग्दा बा'को फोन आयो।
'परीक्षा दिएर घर आइजा,' बा बोल्नुभो।
'हुन्छ। म आउँछु। सिधै महेन्द्र हाइवेबाट आउँदैन। म पहिला काठमाण्डु जान्छु। त्यसपछि आउँछु,' मैले उत्तर फर्काएँ। दशैं सम्मुखमा थियो। यो चोकबाट पल्लो चोक हिँडेँ भने दशैं आइजान्थ्यो। मध्याह्नको सूर्य टाउकैमा राखिदिए जस्तो भारी थियो शरीर। धरानको गर्मीको के कुरा गर्नु? स्टेसनबाट रेल छुटेजस्तो, पिठ्युँमा झोला बोकर म धरान बजारबाट छुटें। धरान उतै छुट्यो। धरानका पुराना गल्लीहरू उतै छुटे। केही नयाँ चोकहरू पनि उतै छुटे। चोक र गल्लीहरू, वचपनदेखिका 'सुखदुःखका सारथी' होलान्। र त, जहाँ चोक त्यहाँ गल्ली, जहाँ गल्ली, त्यहीँ चोक। यी मान्छे हुँदा हुन् त , 'मुना-मदन', 'कृष्ण-राधा', 'राम-सीता' जस्तै चर्चित हुन्थे होलान्।
केही उकाली, केही ओराली बोकेर नदी समुन्द्र पुगे जस्तो, म घर पुगें। प्लस टु सक्काएको डेढ वर्ष भइसकेको थियो। मसँग आशाभन्दा बढी निराशा थिए। उज्यालोभन्दा अँध्यारो थियो। सँगै प्लस टु पढ्नेहरूले, ब्याचलर प्रथम वर्षको जाँच दिइसकेका थिए। म गुँड बिर्सिएको चराजस्तो रन्थनिएको थिएँ। रन्थिएको मात्रै के भन्नु? 'मौसम खराब भएपछिको विमान' जस्तो दिशाहीन थिएँ। अलपत्र थिएँ। केवल सपनाहरू मभित्र कतै न कतै छट्पटाइ रहेका थिए। न अगाडि जाने बाटो देख्थेँ, न त फर्किन नै सक्थेँ। भीरमा अड्किएको मृगको हालत थियो मेरो।
पसिना-पसिना थिएँ म। जता हिँडे पनि निराशाको काँडाले घोचिराख्थ्यो। अनुहारमा आशाको घाम नउदाएको थुप्रै भइसकेको थियो। अरूबेला खुसी हुन ठूलो कारण नै नचाहिने मलाई, त्योबेला खुलेर हाँस्न बिर्सिसकेको थिएँ।
घर पुगेपछिको एक साँझ, आँगनमा पलेंटी कसेर बा बस्नुभो। बा'को एकछेऊ म बसें। अर्को छेऊ हजुरबा बस्नुभो। मलाई एउटा आँखा र हजुरबालाई एउटा आँखा मानिदिने हो भने बा 'नाक' हुनुभो। मेरो तीन पुस्ता यसरी सँगै बसेको दुर्लभ संयोग थियो त्यो।
ढाकाटोपी अलि मिलाउँदै बाले बोल्नुभो, 'अब जे छ ठीकै छ। यत्रो प्रयास गर्दा पनि छात्रवृत्तिमा नाम निस्केन। ठीकै छ। बिग्रिहालेको केही छैन। एमबीबीएस पैसा तिरेर भए पनि पढ्। म पढाउँछु।'
बा'को वाक्य पूरा भएर भुइँमा नपोखिँदै भनेँ, 'म पढौंला। मलाई समस्या छैन। तर, आधा करोड बढी पैसा कहाँबाट ल्याउनुहुन्छ? डाक्टर पढ्न आधा करोड बढी चाहिन्छ। हामी रोडपति हौं। करोडपति होइनौं। झुपडीमा बसेर महलको सपना म कसरी देखुँ?' कालो अनुहार लाएर रुन्चे स्वरमा बोलेँ।
'तेरो काम पढ्ने मात्रै हो। पढ्। आर्थिक कारोबारको जिम्मा मेरो हो। म आफू बेचिएर पनि तँलाई पढाउँछु, '... बा फेरि हिम्मत दोब्बर बढाएर बोल्नुभो।
'हो बा पढ्। मैले पैसाको अभावमा तेरा बालाई राम्रो पढाउन सकिनँ। तँलाई मन लाग्दो कोर्स पढाउने हो। घर बेचुला। ठूलो खेत बेचुला। खोली खेत बेचुला। मात्रै पढ्। तेरी बज्यैका कानका सुन बेचुला। तेरी आमाको नाकको फूली बेचुला। तँ पढ्,'बा'को छेउतिर बसेका बुढा मान्छे बोल्नुभो।
अहो, पचहत्तर बसन्तको घाम खाइसकेका मान्छेको बोली, भख्खर बीस टेकेको युवकको जस्तो तन्नेरी थियो। स्पस्ट थियो। हो तीनै बुढा मान्छे थिए, मेरा हजुरबा।
त्योबेला हजुरबा उभिन लौरो चाहिन्थ्यो। जसलाई आफू उभिन लौरो चाहिन्थ्यो, उहाँ नै मलाई भनिरहनु हुन्थ्यो, 'म घर थाम्छु। तँलाई पढाउँछु।'
'मलाई केही आशा छैन । धनपैसा हातको मयाल (फोहोर) हो। आज छ, भोलि छैन। आज छैन, भोलि । कम्तिमा फलानाको नाती डाक्टर भयो। फलानाले नातीलाई डाक्टर पढायो। फलानाको छोरो अप्रेशन गर्ने भयो भनेर गाउँले भन्लान्। दुनियाँ भन्ला। मलाई यति भए पुग्छ। पढ्नू, '... हजुरबा फेरि एकनास बोल्नुभो।
यतिञ्जेल बा चुपचाप हुनुहुन्थ्यो। अभावको बयालो (बतास) आइरहने घरमा, छोरो पढाउने जिम्मेवारीले थिचिनुभएको पो थियो कि! 'पढाउने त भनिहालेँ, पढाउने चाहिँ कसरी?' भन्ने सिरेटोले उहाँको मुटुमै घोचेको पो थियो कि!
कुन्नि के थियो। बा उज्याला थिएनन्। बा उज्यालो नहुनु भनेको घर अँध्यारो हुनु हो। घर अँध्यारो हुनु भनेको धेरै कुरा अँध्यारो भैजानु हो।
मलाई डाक्टर पढाउने सपना देख्ने, आफू अँध्यारोमा बसेर मलाई उज्यालो दिने, तिनै हजुरबा हामीलाई छोडेर जानुभएको आज तीन वर्ष पूरा भो। मलाई उज्यालो दिने बत्ती सधैँका लागि निभेको दिन आजै थियो। मेरा परमपूज्य हजुरबाप्रति भावपूर्ण श्रद्धासुमन। हजुरको बैकुण्ठ बास होस्।
000
म बहुत चकचके थिएँ, बच्चामा। रेडियो कति बिगारेँ। मसँग हिसाब-किताब छैन। लाग्छ, परीक्षामा प्रश्न भन्दा बढी मैले घडी बिगारें हुँला। बिगार्नु, भत्काउनु, फुटाउनु, भाँच्नु, ती मेरा लागि ठूला कर्म थिए। अरूका लागि कुकर्म।
घरमा बेला-बेला 'उथलपुथल' भइरहेपछि एकदिन हजुरबा टाढा ज्योतिष गाउँ हेराउन जानुभो । घर फर्किंदा बाटोमा घडी भेटाउनु भएछ। मेरो हातमा परेको त्यो घडी नै पहिलो घडी थियो। एकदिन गोठालो जाँदा बाटोमा लडेर घडी टुक्र-टुक्रा भयो। त्योदिन मेरो घडी मात्रै टुक्रिएन, म आफू पनि टुक्रा-टुक्रा भएँ। घडीको फिता भाँचिए जस्तो, म आफैं भाँचिएँ । उता घडी बन्द भयो, यता मेरो बोली। हजुरबाले ल्याइदिएको खुशी नियतिले खोसेर लग्यो।
आज यो लेख लेख्दै गर्दा मसँग न त्यो घडी छ, न त घडी ल्याइदिने मान्छे नै। आज हजुरबा हुँदा हुन् त म हजुरबाको घडी बन्दो हुँ। उहाँलाई समय दिँदो हुँ।
मसँग अब हजुरबाका केही अविस्मरणीय सम्झना मात्रै बाँकी छन्। केही धमिला चित्रहरू छन्। केही पुराना यादहरू छन्। सम्झना छुटी जाने केही दोबाटाहरू छन्। र छन् केही, हजुरबाको बुढीऔला समातेर चढेका उकाली, झरेका ओराली र बसेका चौतारी।
हजुरबा सँगै सक्किए, कस्तुरी भैँसी, तारे बल्द, भौनेराको चउड र गोखेराको मेलो । यी सबै त्यस्तो ठाउँमा पुगेका छन्, जहाँ म पुग्न सक्दिनँ। जसलाई समात्न न म सँग हाँगो छ, न टेक्ने जरा नै।
000
मेरो धेरै समय हजुरबा र हजुरआमा सँगै बित्यो। बिहान घाम झुल्किने बेलादेखि साँझ घाम डुब्ने बेलासम्म, म उहाँहरूकै वरीपरी फन्को मार्थें। सूर्यको फन्को पृथ्वीले मारे जस्तो।
सानो छँदा मलाई त्यो बेलाको 'चमेना' बिस्कुट खुब मन पर्थ्यो। अचेल त्यो बिस्कुट मैले भेटाउन सकेको छैन। हजुरबा दोकानबाट घर आउने बेला घरमा म उहाँको 'कोटको भित्री खल्ति को पर्खाईमा हुन्थें। बिरालाले दूध पर्खिए जस्तो म हजुरबालाई पर्खिरहन्थें।
गाउँमा कसैको बिहे, भोज, भतेर, पूजापाठ भयो कि मेरो लागि त्यो 'महा-उत्सव' हुन्थ्यो । उहाँका खल्तिलाई मेरा मिठाइहरूले 'भण्डारगृह' बनाएका हुन्थे।
कुन खल्तिमा मासु छ? कुन खल्तिमा मिठाइ छ? कुन खल्तिमा पैसा छ? म टाढाबाटै थाहा पाउँन सक्थें। यसरी हजुरबाका सबै चिज थाहा पाउन सक्ने मैले हजुरबाको निधन थाहा पाइनँ। अरूबाट सुन्नुपर्यो।
अचेल मलाई पाइला-पाइलामा यो लागिरहन्छ कि, 'परिवारको जेठो छोरा हुनु भनेको सजिलो हैन रहेछ। कतिपय सपनाहरूलाई मनको चिहानघरमा बाध्यताले खरानी बनाउनुपर्छ।'
मेरो हजुरबा परिवारको जेठो छोरो, मेरा बा जेठो छोरो, म पनि जेठो छोरो। हामी सबैका काँधमा 'जिम्मेवारीको झोला' नदिसँगै बगर बगिरहे जस्तो उमेर सँगै बगिरह्यो। कहिल्यै छुटेन।
000
२०७६ सालको असार ३ गते। एमबीबीएस प्रथम वर्षको प्रथम त्रैमासिक परीक्षा सुरू हुने दिन थियो। सबेरै घाम झुल्क्यो। कोठा सहजै घाम पर्ने दिशामा थियो। म आफ्नै धुनमा 'एनाटोमीका' लामा-लामा पाठहरू पढ्दै सम्झिँदै थिएँ। अरू दिन भन्दा औसत छिटो उठेँ। नित्य कर्म सकेँ र फेरि पढ्न बसेँ।
एकाग्र दिमाग रन्थनियो। 'बैसु फुपु' लेखेको नम्बरबाट फोन आयो। एक्कासी धेरैपछि फुपुको फोन आएपछि खुशी हुँदै उठाएँ। 'फुपु दर्शन !'.....
उताबाट 'मेरो दर्शन'को कुनै रिप्लाई आएन ।
'भेषराज। बुवा बितिगया। अब क्या हारू। केही चिन्ता नमानेई भदु, '.... फुपु रोएर यति बोल्नुभो ।
फोन काटियो ।
म ठूलो भीरबाट खसेँ। आँखाबाट मेरा आँशु खसे। न बोल्न सकेँ केही, न केही भन्न नै। हतपत्त बुवालाई फोन डायल गरेँ।
पहिलो घण्टी गयो । फोन उठेन । दोश्रोमा उठ्यो।
'बाजे बित्नुभयो रे। मलाई भन्दै नभन्ने? बिरामी छन् भन्ने पनि खबर नगर्ने? म तपाईको छोरो रहेनछु बुवा?' आँखाबाट निस्केका अश्रुधारा पुछ्दै बासँग मुर्मुरिएँ।
'उम्। बित्नुभो। हिजोसम्म एकदमै ठीक हुनुहुन्थ्यो। राति एक्कासी बढी भो। म गाडी खोज्दै थिएँ, अस्पताल लिन। नबोली जानुभो।'
फेरि फोन काटियो।
अनुहार औँशीको रात भयो। जिन्दगीमा पहिलोपटक म मेरा आफ्ना मान्छे गुमाउँदै थिएँ। सन्नाटाको भुमरीमा, म 'बगी आएको मुढो' भैगएछु।
म रोएको देखेपछि रूममेटले सोध्यो, ' के भयो?'
'हजुरबा परमधाम जानुभो। हामीलाई छोड्नुभो,' घुँक्क-घुँक्कको आवाज पछि यति बोलें।
मनमा निराशाको बाढी आयो। बगाई लग्यो मन। चुँडाइ लग्यो हृदय। छुटाई लग्यो आँशु। न पौडिन सक्ने भएँ। न उत्रिन नै। जे थिएँ, म पर्याप्त थिइनँ। आधा थिएँ। अधुरो थिएँ।
मेरो एक्जाम ९ बजेबाट सुरू हुनेवाला थियो। यतिञ्जेल सात बजेको थियो। पृथ्वीको घाम कोठा भित्रै झुल्केको त्यो दिन मेरो आफ्नो घाम अस्ताएको थियो। दिन उज्यालो थियो । मन अँध्यारो। कोठाको बत्ती चकमन्न बलेको दिन, मेरो बत्ती निभेको थियो।
पढ्न बन्द गरेँ। एकोहोरो रोइरहेँ। आँशु रित्तिए। बल सकियो। आवाज बन्द भयो। स्वर सुक्यो। घाँटी मरूभूमीमा उम्रेको सिउँडी जस्तै भयो। सास छ तर सुख्खा।
शोकलाई शक्तिमा बदल्दै म परीक्षा दिन हिँडें। म हारेको थिइनँ। उस्तो त मलाई कसैसँग जित्नु पनि त थिएन। बिहानै परलोक भएका हजुरबा सम्झेँ र सोचेँ 'यस्ता परीक्षाहरु आइरहने छन्। मैले डराउनु हुन्न। मैले गति दोब्बर बनाउनु पर्छ। जिन्दगी भनेकै समस्या, अभाव र संघर्षको त्रिवेणी न हो।'
जिन्दगीमा परीक्षाहरु यसरी आइदिन्छन् कि, जस्तो जेब्राक्रसबाट बाटो काटेर बिच रोडमा पुगिसक्दा बाइकहरू हुइँकिएर आउँछन्।
त्यो दिन, मैले प्रश्नका उत्तरहरू कलमको मसीले लेखिनँ, आसुको मसीले लेखेँ। आसुको मसीले लेखेका चिजहरू हत्तपत्त मेटिँदैनन्।
हरेक प्रश्नका उत्तरहरू मेरा आसुका थोपाहरूले सिञ्चित भइरहे। उत्तरपुस्तिकाको कुनै पाना खाली थिएन होला, जहाँ मेरो आसु नखसेको होस्।
अरू परीक्षार्थीले परीक्षा सक्नुभन्दा अगाडि म परीक्षा हलबाट निस्कें। मेरा पाइलाहरु यति गरुङ्गा थिए कि जुत्ता लगाएर हिलैहिलो भएको बाटोमा हिँड्दा हिलो टाँसिएर जुत्ता गरुङ्गो भए जस्तो। मन भारी-भारी थियो। छातीमाथि कसैले बडेमानको सिंगो पहाड राखिदिए जस्तो आभाष हुन्थ्याे।
परीक्षा दिएर रूम फर्किएँ। अघि परीक्षा हलमा रोएँ। सिंढीमा रोएँ। ग्यालरीमा रोएँ। बाथरूममा रोएँ। सुत्ने ओछ्यानमा रोएँ। अहिले आएर यस्तो लाग्छ कि, मैले रून बाँकी ठाउँ कहीँ थिएन होला। कम्तिमा हजुरबासँग अन्तिम भेट भइदिए पनि हुन्थ्यो भन्ने भइरह्यो। यो अहिले पनि लागिरहन्छ।
म आसुहरु थाम्न सक्दिनँ। 'मनमा लागेको कुरा लुकाउन खोज्नु' र 'झर्न लागेका आसुहरु रोक्न खोज्नु' मेरा लागि बहुत ठूला चुनौतीका पहाड हुन्। म रोक्न सक्दिनँ यी दुई चिज। दुस्साहस त गरौँला तर सक्दिनँ।
हजुरबा स्वर्गे हुनुभएको केही समयपछि एकदिन बा'को फोन आयो। कुराकानीकै क्रममा बा भक्कानिनुभो। डाको छोडेर रूनुभो।
मैले उमेर पुगेका छोराछोरी भइसकेका लोग्ने मान्छे यसरी डाको छोडेर रोएको यो भन्दा अगाडि कहिल्यै देखेको थिइनँ। बा रोएको देखेर मेरा आँखाहरु ओभाना रहेनन्। बा सँगसँगै रोएँ म। बा सँगसँगै रोएका थुप्रै दिनहरू छन्, बा सँगसँगै हाँस्ने दिन कहिले पो आउलान्?
त्योदिन मैले तारा देविको गीत 'फूलको थुङ्गा बहेर गयो गंगाको पानीमा...' यति धेरैपटक सुनेँ कि त्यसको हिसाब मसँग छैन।
000
मेरा हजुरबाले 'नातीको घाँटीमा स्टेथस्कोप झुण्डिएको' देख्न पाउनुभएन। अप्रेसन थिएटरमा नातीले सर्जिकल ड्रेस लगाएको देख्नु पाउनुभएन। भन्नेहरूले 'फलानोको नाती डाक्टर भयो। फलानोको छोरो धेरै पढ्यो' भन्ने कुरा पनि सुन्न पाउनुभएन। यदि मेरा हजुरबाले त्यति देख्न पाएको भइदिए, त्यति सुन्न पाएको भइदिए उहाँलाई 'चारधाम' गएको महसुस हुँदो हो। आधा झरिसकेका दाँत देखाउँदै गिँजा छाडेर हाँस्दा हुन्।
मेरो घाँटीमा 'स्टेथस्कोप' झुण्डिनु भन्दा पहिला मेरा हजुरबाका केही सपनाहरू झुण्डिएका छन्। ती सपनाहरूलाई आकार दिएर विपनामा बदल्नु त छँदैछ।
आज यो लेख लेख्दै गर्दा हजुरबा बाँचेको भैदिए म हजुरबालाई उपहार हैन, समय दिन्थेँ। उज्यालो माग्दैन थिएँ, उज्यालो देखाउँथे। एक गरिब किसान मजदुरको छोरो मेरा हजुरबाले जीवनभर खेत जोत्नुभो। बाँझो खेतमा हलो जोत्नुभयो। तर कहिल्यै पनि आफूले देखेका सपनामा डोजर चलाउनु भएन। निराशामा हलो जोत्नु भएन।
चुनौती, समस्या र अभावको छाती फुटाएर हामीलाई उज्यालो दिइरहने मेरा हजुरबाले आफ्नो 'दुःखी कर्म' फुटाउन सक्नुभएन। त्यो जान्नु भएन।
आफ्नो भाग्य फुटाउन मिल्ने भैदिए, म मेरो कर्मलाई 'सिसाको हालत' बनाइ छाड्थें। आखिर भोग्नै पर्छ, नियति। सम्हाल्नै पर्छ, भाग्य। समात्नै पर्छ, ईश्वरले दिएको जति।
हजुरबाले मेरो खुसी टाल्दा-टाल्दा आफ्ना पैतलाहरू फुटेको पत्तो पाउनुभएन। मेरै खुशीका लागि ढाड कुप्रो हुन्जेल हलो जोत्दा-जोत्दा हातका हस्तरेखा मेटिएको पत्तो पाउनुभएन। 'म हिँड्ने बाटो' नमेटियोस् भनेर रातदिन लाग्नुभो। अझैँ मेरो गोरेटो फराकिलो बनाइदिने अधिकतम् प्रयास गरिरहनुभो।
मेरा हजुरबा, हामी सन्तानका जीवनयापनका गोरेटाहरू चौडा बनाउने क्रममा रातदिन उज्यालो दिँदा पनि आफू बत्तीमुनिको अँध्यारो भइरहनुभो। आफ्ना गालामा चाउरी परे पनि मेरो भविष्य चाउरी नपरोस् भनेर पुकारीरहनुभो।
बा-आमा र किसानमा एउटा कुरा समान छ। पानी परेपछि छानो चुहिन्छ भन्ने कुरा किसानलाई थाहा छ तरपनि ऊ खडेरीमा पानीको प्रार्थना गरिरहन्छ। आफ्ना सन्तानको प्रगतिले आफ्नो आँखाबाट आसु खस्छ भन्ने कुरा थाहा भएर पनि बाआमा सन्तानको प्रगति उन्नतिको लागि सदासर्वथा प्रार्थना गरिरहन्छन्।
मेरी आमा भन्नुहुन्छ, 'तेरा लागि नढोगेको कुनै ईश्वर छैन होला। तेरा लागि नपुकारेको कुनै मन्दिर छैन होला। फूल फाल्नेमा फूल, पाती फाल्नेमा पाती फालिरहेकै छु।'
धर्मशास्त्रले मेरा हजुरबा पृथ्वीको कुनै कुनाकाप्चा, धर्ति, स्वर्ग, नर्क, बैकुण्ठ, प्रकृति कतै न कतै छन् भन्छ। मलाई यस्तो कुरामा खास विश्वास लाग्दैन। यदि हजुरबा कतै होइसिन्छ भने, ए हावा, ए चरी, ए बादल, ए घाम...
'हजुर बा, तपाईंको नाती अभाव र गरिबिको काप फोडेर उम्रेको पिपल हो। ऊ न सुक्नेछ, न बिग्रनेछ। वसन्तको चर्को घाम, वर्षादको डर लाग्दो वर्षा, शिशिरको पट्यारलाग्दो उजाडमा पनि ऊ हराभरा हुनेछ।' ... यत्ति सन्देश उहाँको कोटको खल्तिमा छोडेर आइजा। जहाँ मेरा थुप्रै गुलिया चकलेटहरू बसिरहन्थे कुनै बेला!
फेरि पनि भावपूर्ण श्रद्धासुमन, मेरो ईश्वर!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।