काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन्।
सर्वोच्च अदालतले विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनैपर्ने अवस्था रहेको बताए।
मन्त्री आलेले उक्त विमानस्थल निर्माणका लागि २६ करोड बजेट न्यून भएको उल्लेख गर्दै थप बजेट अर्थ मन्त्रालयले निकासा गर्ने विश्वाससमेत व्यक्त गरे।
उनले भने, ‘सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य यात्रु चापका कारण यसको विकल्प अविलम्ब खोज्नुपर्ने अवस्था छ।’
उनले सरकारको राष्ट्रिय आयोजनाको प्रस्तावित निजगढ विमानस्थल निर्माणका लागि १ अर्ब २० अर्ब अनुमान गरिएको उनले बताए। ‘चालू आवको नीति तथा कार्यक्रममा यस परियोजनाका लागि छुट्टयाइएको जम्मा २६ करोड न्यून बजेट हो। अर्थ मन्त्रालयले थप बजेट व्यवस्था गर्नेमा म आशावादी छु।’
साथै उनले नेपाल नागरिक उडड्यन प्राधिकरणले यस परियोजनाको विस्तृत डिजाईन कार्य गरिरहेको जानकारी दिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा मोडालिटीसम्बन्धी सिफारिस समिति बनेको उनको भनाइ छ।
उनले भने, ‘निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा ८ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत ३ अर्व लगानी गरिसकेको छ। यो परियोजनासँग जोडिएको काठमाडौं तराई दू्रतमार्गका लागि सरकारको दुई खर्व लगानी भईसकेको अवस्था छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।