काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काठमाडौं फोहर थेग्न नसक्ने अवस्थामा पुगेको बताएका छन्। शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा तथा सिसडोल क्षेत्रका वासिन्दा र सरोकारवाला निकायबीचको छलफलमा थापाले यस्तो बताएका हुन्।
उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए। विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै उनले स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे।
महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए। उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे।
उनले भने, ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ। नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ। बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ। १७० पटक सम्झौता भएको छ, तपाईंहरुलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला। यो हामीबाट नै भएको गल्ती हो।’
महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।