काठमाडौं- अखिल क्रान्तिकारीको २१औं महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका दुई उम्मेदवारले मूल पार्टीका नेताहरुको सक्रियता रहेको बताएका छन्।
अध्यक्षका दुई उम्मेदवारमध्ये रञ्जित तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थन र अर्का उम्मेदवार अनिल शर्मालाई गृहमन्त्री समेत रहेका नेता जनार्दन शर्माले सक्रिय रुपमा सघाएका थिए। शर्माद्वय दाजुभाइ समेत हुन्।
‘भ्रातृ संगठन भएकाले नेताहरुको पक्षधरता स्वाभाविक हो,’ अध्यक्षका विजयी उम्मेदवार तामाङले भने, ‘केही पनि नगर्ने हो भने माउ पार्टीको नेता भएको के काम? तर कुनै नेताले बोकेकै आधारमा जितेको भने होइन।’
अध्यक्षका पराजित उम्मेदवार शर्माले पनि खास नेताको खास उम्मेदवारप्रतिको चाहनालाई आफूले स्वाभाविक रुपमा लिएको प्रतिक्रिया दिए । उनले भने, ‘जनार्दन शर्मा मेरो दाइ भएका कारण भाइले जितोस् भन्ने चाहना राख्नु र सक्रिय हुनु स्वाभाविक हो।’
उनले पार्टीका खास नेताको प्रत्यक्ष सक्रियता नभए पनि उनी निकटका नेताहरुको सक्रियताप्रति असन्तुष्टि जनाए । ‘मलाई हराउन पार्टी अध्यक्षको सचिवालय सक्रिय भएको हुनसक्छ,’ उनले भने, ‘अध्यक्षको अथोरिटीलाई उहाँका वरिपरि बस्नेहरुले दुरुपयोग गरे।’
शर्मा आफूले चुनावमा हार बेहोरेमा कसैलाई आरोप लगाउने पक्षमा नभए पनि भ्रातृ संगठनमा माउ पार्टीका खास नेताको रुचिप्रति असन्तुष्टि जनाए । कसैको नाम नलिई शर्माले भने, ‘आन्दोलन र संगठन बनाउन होइन, गुलामहरु बनाउन र भोलि आफ्नो हित अनुकूल त्यसलाई प्रयोग गर्न, धन्दा चलाउन र प्रभाव जमाइराख्न चुनावमा चलखेल गरेका हुनसक्छन्।’
शुक्रबार राति सकिएको मतगणनामा तामाङले ८ सय ४५ मत ल्याएर चुनाव जितेका थिए। उनले प्रतिस्पर्धी शर्मालाई २३ मतले हराएका थिए । एकताको २१औं सम्मेलन भनिएको क्रान्तिकारीमा पहिलो पटक चुनावबाट अध्यक्ष चुनिएका हुन् । सहमतिमै अध्यक्ष सर्वसम्मत बनाउन प्रचण्डले प्रयास गरेका थिए । तर, आफूहरुले निर्वाचनबाटै नेतृत्व छनोट हुनुपर्छ भनेर अडान राखेको दुवै उम्मेदवारले नेपाल लाइभलाई बताए।
सहमति हुन नसकेपछि गत सोमबार ३३ पदाधिकारी सहित २ सय ४३ सदस्यका लागि चुनाव भएको थियो । चुनावबाट खुला तर्फबाट उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह विजयी भइन् । जनजाति, दलित र मधेसी उपाध्यक्षमा क्रमशः दिपेश पुन, इन्द्र भुसाल र रविकिरण यादव विजयी भएका छन्।
उत्तम अधिकारी महासचिवमा निर्वाचित भएका छन्। उपमहासचिवमा जिपी मैनाली, तुकमान महरा, मिलन महतरा र नरेश रेग्मी निर्वाचित भएका छन् । महिला कोटाबाट निर्विरोध आशा तमु उपमहासचिव चुनिएकी थिइन्। कोषाध्यक्षमा केशव रावल विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।