स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले केही कम्युनिस्ट विचारधारा बोक्ने दलहरुसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ। गठबन्धन नहुने हो भने नेकपा माओवादी केन्द्र लगायतका दलहरु पुनः एमालेसँग मिल्न जाने र निर्वाचनमा नेपाली कांग्रेसले २०७४ सालको संघ र प्रदेशको अवस्था झेल्नुपर्ने संशय छ।
कांग्रेसले आगामी तीनै तहको निर्वाचन जित्न गठबन्धन अपरिहार्य जस्तो भएको भनेको छ। देशभित्रको परिस्थितिले मात्रै होइन, बाह्य शक्तिको दबाबले पनि नेपालमा दलहरु मिल्ने-छुट्ने गर्छन्। नेपालको छिमेकमा रहेको कम्युनिस्ट शक्ति चीनले नेपाली कम्युनिस्ट पार्टीहरुलाई आडभरोसा दिन्छ। सकेसम्म एकै ठाउँ रहेर बलियो बनुन् भन्ने शुभेच्छासहितको भूमिका निर्वाह गरिरहन्छ।
कांग्रेसले यतिबेला माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सँगै लिएर जान सकेन भने ती दलको अस्तित्वका लागि पनि नेकपा एमालेसँग जोडिन बाध्य पारिन सक्छन्। नेपाली कम्युनिस्ट नेताहरु चुनावको छेकमा चीनतिर पुगेर आइरहेको सन्दर्भले त्यतातिर संकेत गरिरहेकै छ। त्यसबाट झस्किएर नेताहरु चुनाव जित्नका लागि गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन्। परिस्थितिलाई यो कोणबाट विश्लेषण गरिरहँदा नेपाली कांग्रेसले अहिले अपनाइरहेको रणनीति कति उपयुक्त भन्ने धेरैलाई लागिरहेको हुनसक्छ।
त्यसका लागि विगतलाई राम्रोसँग नियाल्नु उपयुक्त हुन्छ। नेपाली कांग्रेसले पार्टीको इतिहासमा धेरै नेता उत्पादन गरेको छ। दलको सिद्धान्त र मार्गचित्रबाट हेर्दा बीपी कोइरालालाई भुल्न सकिँदैन। २०१७ सालमा राजा महेन्द्रले बीपीलाई अपदस्थ गरेपछि यी दुईबीचमा राजनीतिक टकराब आयो। तर, महेन्द्रले राज्य संचालनको जिम्मेवारी ज-जसलाई दिए, ती सबै बीपीसँग जोडिएकै मानिस थिए। तुलसी गिरीदेखि सूर्यबहादुर थापासम्म तत्कालीन समयमा बीपीका कार्यकर्ता थिए। उनीबाट प्रशिक्षित युवाहरु थिए। बीपीले आफ्नो राजनीतिक विचार र सिद्धान्तलाई महत्व नदिएर राजा महेन्द्रसँग मिलेको भए जीवनकालभरि नेपालको प्रधानमन्त्री बनिरहन सक्थे। तर, नेपाली कांग्रेसको संसदीय प्रणाली र बहुदलको सिद्धान्तलाई राजाले स्वीकार नगरेका कारण बीपीले संघर्ष गर्ने निर्णय गरे, तर सम्झौता गरेनन्। सत्तामा पुग्नु ठूलो विषय होइन, कसरी सत्तामा पुगिन्छ भन्ने महत्वपूर्ण रहेको उनको यो अविचिलित संघर्षले दर्शाउँछ।
बीपीकै अर्को प्रसंग छ, २०३७ सालमा भएको जनमत संग्रहमा बहुदल पराजित भयो। नेपालमा भएका कम्युनिस्ट पार्टीहरुले त्योबेला खुलेर बहुदललाई सहयोग गरेको भए नेपालमा १० वर्षअगाडि नै प्रजातन्त्रको पुनर्स्थापना हुन्थ्यो। जनमत संग्रहमा किन नेपालका कम्युनिस्टहरुले बहुदललाई सहयोग गरेनन् भन्ने विषयमा बीपीका सीमितता देखिन्छन्। उनलाई कम्युनिस्टहरुले बारम्बार संयुक्त आन्दोलन र संघर्षका कार्यक्रम तयार गर्न प्रस्ताव गरे, बीपीले मानेनन्। किनभने, नेपाली कांग्रेसको सिद्धान्त कम्युनिस्टहरुसँग मिल्दैन। स्वयम् पुष्पलाल श्रेष्ठले राखेको प्रस्तावमा समेत बीपीले भनेका थिए, 'पार्टी एकिकरण नै गरौं, तपाईंहरुको आर्थिक सिद्धान्त मान्छु। तर, तपाईंहरुले मेरो प्रजातान्त्रिक, संसदिय र बहुदलीय व्यवस्था मान्नुपर्छ।' त्यसमा कम्युनिस्टहरु सहमत नभएपछि एकीकरण वा एकता मात्र नभइ सहकार्य पनि सम्भव भएन।
नेपाली कांग्रेस यो परिवेश र राजनीतिक संस्कारबाट आएको पार्टी हो। जसका लागि न सत्ता ठूलो विषय हो, न त लक्ष्य हासिल गर्नु नै। नेपाली कांग्रेस आफ्नो सिद्धान्त प्रतिकुल केही पनि गर्दैन। आज नेपाली कांग्रेस कम्युनिस्टसँग मात्र हैन, हिजो आफूलाई वर्गशत्रु मानेर आफ्ना कार्यकर्ताहरुको निर्मम हत्या गर्नेहरुसँग गठबन्धन गर्ने जमर्को गर्दैछ। हुनसक्छ, यो समयको माग होला। तर, के हिजोको त्यो गर्विलो इतिहास बोकेको कांग्रेस आज सत्ता प्राप्तिमा यति लाचार बनिसकेकै हो त? यो प्रश्न आज हरेक कांग्रेस कार्यकर्ताले मात्र होइन, कांग्रेसलाई माया गर्ने हरेक जनमानसले गर्न थालेको छ। कांग्रेस नेतृत्व निरुत्तर छ।
यो परिस्थितिमा कांग्रेस नेताहरुले जे निर्णय गरे पनि कांग्रेसका कार्यकर्ताहरुमा भने भित्रभित्रै भुसको आगो जस्तै विद्रोह सल्किरहेको छ। विशेषगरि काठमाडौंजस्ता शहरी भेगमा, जहाँ माओवादी द्वन्दकालमा विस्थापित भएर ज्यान जोगाउन काठमाडौं वा अन्य शहर झरेका मानिसहरु बस्छन्। जसले आफ्नै आँखासामु आफ्ना परिवारका सदस्य काटिएको देखेका छन्। जन्मस्थानमा बस्न नसकेर भाग्न बाध्य पारिएका उनीहरु के दास हुन्? कांग्रेसका केही नेताले आफू निर्वाचनमा पराजित हुने डरले गरेको गठबन्धनमा बसेर जसलाई मत दे भन्यो त्यसैलाई दिने? निसन्देह तीनले मतपत्र खाली राख्लान्, तर नेताको निर्देशन मान्ने छैनन्।
अहिले नेपाली कांग्रेसमा युवा र महिलाहरु भूमिका विहीन नै छन्। तिनले कहीँकतै भूमिका पाउने भए भने त्यो स्थानीय तहको निर्वाचनमा नै हो। नेपाली कांग्रेसले गठबन्धनको निर्णय गरेका कारण यस्ता युवा र महिलाहरुले कांग्रेसबाट अवसर नपाउने स्थिति बन्यो भने ती कांग्रेसमै बसिरहनुपर्छ र बसिरहन्छन् भन्ने छ? कांग्रेसमा वर्षौं लगानी गरेका यस्ता सयौं युवाहरुले अवसरको खोजीमा अन्य दलमा प्रवेश गरे भने त्यसको जिम्मेवारी कसले लिन्छ?
नेपाली कांग्रेसबाट अवसर नपाउने, तर गठबन्धन गरेका दलबाट अवसर पाउने अवस्थामा कांग्रेस कार्यकर्ताहरु गठबन्धनका ती दलहरुमा नै प्रवेश गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्छन्। त्यस्तो अवस्थाको जिम्मेवारी कसले लिन्छ? अनि ती युवा र महिलाको स्थानमा बसेर हेरौं, नेपाली कांग्रेसले निर्वाचन जित्न भनेर सिद्धान्त नमिल्ने, अझ विपरीत सिद्धान्त भएका दलहरुसँग गठबन्धन गर्न मिल्छ भने ती युवाले अर्को पार्टीमा अवसर देख्दा निर्वाचन जित्न त्यो पार्टीमा जान किन नहुने?
अन्तमा, केही नेताहरु 'गठबन्धनको विरोध गर्नेहरुले पार्टी छोड्दा हुन्छ' भनेर भाषण गरिरहेका छन्। के नेपाली कांग्रेस तपाईंहरुको विर्ता हो? कुनै समय तपाईंहरुका पिता यो राजनीतिक दलका नेता हुनुहुन्थ्यो होला, त्यसैले तपाईंले यो सम्मान पाउनुभएको छ। तर, राजनीतिक दल कसैको विर्ता हुन सक्दैन। हेर्दै जानुहोला, अवसरको खोजमा योपटक सयौं युवाहरु कि गठबन्धकै दलमा प्रवेश गर्नेछन्, कि प्रतिस्पर्धी दलमा जानेछन्। तपाईंले लखेट्नै पर्दैन।
बीपीले भन्नु भएको थियो- कुनैबेला हाम्रो पार्टीमा पनि सुकिलामुकिला हाबी हुनेछन्, त्योबेला सच्चा कार्यकर्ताले उनीहरुविरुद्ध संघर्ष गर्नुपर्नेछ। कांग्रेसमा यो अवस्था आएको हो?
अब नेपाली कांग्रेसले कि विद्रोहको अपेक्षा गर्छ, कि त क्षयीकरण भएर प्रजा परिषद बन्छ? कांग्रेसलाई जोगाउने हो भने आज सत्ताको लोभ छोडेर सिद्धान्तका लगि विद्रोहको बिगुल फुक्ने बेला भएको छ। निसन्देह! अब कांग्रेस विद्रोहले मात्र पुनर्जाग्रित हुनेछ। कांग्रेस भएर सोच्नुस्, नेताको दास बनेर सत्तामा पुग्ने कि जनताको सेवकका रुपमा सिद्धान्त निष्ठ भएर देश निर्माणमा लाग्ने?
(लेखक नेपाली कांग्रेस काठमाडौंका जिल्ला सदस्य हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।