काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ।
सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.०४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले गिरावट आएको छ।
सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
आइतबारको तुलनामा सोमबारको कारोबार रकम बृद्धि भएको छ। आइतबार १ अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको सेयर मूल्य १.०४ प्रतिशत भन्दा बढीले गिरावट आएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ।
त्यस्तै, इमर्जिङ्ग नेपालको सेयरमूल्य ९.१२ प्रतिशत बढेको छ। कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ। नबिल बैंकको साढे ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।