काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ। पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर २ हजार ५१३.४१ विन्दुमा झरेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.४४ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६८ अंकले गिरावट भएको छ।
आइतबार कारोबारमा आएका २२५ कम्पनीको ३२ लाख ५३ हजार कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। २२५ कम्पनीमध्ये २९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
आइतबार नेप्सेका १३ उपसमूहमा १२ उपसमूहको सेयर मूल्य गिरावट आएको छ भने एउटा मात्रै उपसमूह सामान्य बढेको छ। जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ। त्यस्तै, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से परिसूचक ओरालो लागे पनि आज तीन वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, जाल्पा लघुवित्तको सेयरमूल्य ४ प्रतिशत बढेको छ भने युनाइटेड इदी मार्दीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सिद्धार्थ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने नबिल बैंकको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।