सुर्खेत– कुकुरले नवजात शिशुको शव च्यापेर हिँडेको घटनामा प्रदेश अस्पताल सुर्खेत अनुन्धान गरिदिन माग गरेको छ। अस्पतालले घटनाका दोषीलाई कारबाही गर्न पनि आग्रह गरेको छ।
प्रदेश अस्पताल सुर्खेतको प्राङ्गणमा एक कुकुरले नवजात शिशुको शव च्यापेर हिँडेको भन्दै त्यससँग 'सम्बन्धित' तस्बिर शनिबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अस्पताल प्रशासनले उक्त घटनामा आफूहरुको लापरबाही नभएको पनि प्रष्टीकरण दिएको छ।
अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।
अस्पतालका प्रवक्ता डा विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु गरेको जानकारी दिए। डा केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सिसीटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७:३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ।'
नवजात शिशुको रेकर्ड हेर्दा विगत एक सातादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ।
आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरुवाले सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्बिर सार्वजनिक गर्नासाथ अस्पतालको लापरबाही भन्दै टिकाटिप्पणी भएको थियो।
कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट उक्त शव खोसेका थिए। प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।