काठमाडौं– अझै केही दिन दिन मौसम सफा नहुने भएको छ। भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण अझै तीन दिन मोसम सफा नहुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन्। अहिले देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ।
उक्त प्रणालीको प्रभावले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको उनले बताइन्। ‘अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन,’ उनले भनिन्।
रातिको समयमा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।