काठमाडौं– रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका ७ लाख कित्ता साधारण सेयर निष्कासन गर्दै छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा २०७९ वैशाख ११ गते हुनेछ भने ढिलोमा बैशाख २६ गते हुनेछ। आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।