काठमाडौं– यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ।
विभागले बुधबार एक सूचना जारी गर्दै नेपाल–भारतबीच सञ्चालन हुने सेवा प्रदायकलाई नियमन गर्न सूचीकृत गर्न लागिएको जनाएको छ। काठमाडौं वा देशका अरु शहरबाट भारतका विभिन्न स्थानसम्म १३ रुट निर्धारण गरिएको छ।
एक देशको आधिकारिक सञ्चालकको लागि दिइएको इजाजत अर्को देशमा बहु–प्रवेशको लागि एक वर्षसम्म मान्य हुने र बढीमा पाँच वर्षसम्म नवीकरण हुने बताइएको छ। अनुमतिपत्र प्राप्त सवारीसाधनले प्रवेश गर्दा वा बाहिरिँदा आधिकारिक बाटो, अध्यागमन विन्दु र भन्सार केन्द्र प्रयोग गर्नुपर्ने विभागले जनाएको छ।
ती सवारीसाधनले सवारी दर्ता प्रमाणपत्र, जाँच प्रमाणपत्र, बिमा कागजात, बाटो इजाजतपत्र, प्रदूषण जाँच प्रमाणपत्र, चालक अनुमतिपत्रलगायत कागजात साथमा हुनुपर्ने उल्लेख छ। त्यस्तै, एक देशमा दर्ता भएर सम्झौताअनुसार सञ्चालन अनुमति पाएका सवारीसाधनले अर्को देशको भू–भागमा स्थानीय यात्रु तथा मालसामान ढुवानी गर्न नपाउने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।