काठमाडौं– पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने रोयल्टीको बक्यौता रकम नबुझाउने ३ वटा क्यासिनो बन्द गराउन पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएको थियो।
बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण आज पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।
उनले भने, 'सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ।'
पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नुपर्ने बक्यौता बाँकी छ।
पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ। हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाइ सरकारको खातामा ८७ करोड राजस्व संकलन भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।