काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन्। कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, लगानीको वातावरण बन्ने किसिमको बजेट ल्याउने उनको भनाइ छ।
नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रममा सहभागी हुने आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताए। ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाऊन्,’ उनले भने, ‘हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं।’
अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै उनले बजेटटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरे। ‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्कन चाहन्छु,’ उनले भने, ‘त्यता नफर्की उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्न सकिँदैन।’
चालू आबको ८ महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै उनले आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए। सो अवसरमा उनले व्यापार घाटा कम गर्न कस्ता काम गर्न सकिन्छ भनेर सुझावसमेत मागेका थिए।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्त्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए। उनले देशभित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिए। ‘केही वस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाई गर्न विभिन्न क्षेत्रबाट सुझाव आएपनि अर्थतन्त्रलाइ सकेसम्म खुला छाड्नुपर्छ, नियन्त्रणा गर्नु हुँदैन भन्ने सरकारको नीति छ,’ उनले भने।
कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत सम्भव भएको भन्दै अर्थतन्त्रलाई विस्तार गर्न सुझाव दिएका थिए। क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतबाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि सशक्त कदम चाल्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।