काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपाल र मानवअधिकार आयोग मलेसिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकहरुको मानवअधिकार संरक्षण सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र मानवअधिकार आयोग मलेसियाका अध्यक्ष ओथमान बिन हासिम बीच सोमबार (२०७८ चैत्र १४ गते) मलेसियामा भएको एक समारोहमा हस्ताक्षर भएको हो। उक्त समझदारी पत्रको अवधि २ वर्षको हुने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।
समझदारी पत्रमा आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणका लागि उजुरीमा सम्बोधन, उजुरी प्रेषण, सूचना आदान–प्रदान, रोजगारदाताहरुलाई प्रशिक्षण, प्राविधिक सहयोग, आप्रवासी श्रमिकहरुलाई कानुनी सहयोग, अध्यागमन, कारागार र हिरासतकक्षहरुको संयुक्त अनुगमन गरी अधिकार संरक्षण र पर्वर्द्धनको वातावारण सिर्जना गर्ने लगायतका विषयहरु रहेका छन्।
समझदारीपत्र कार्यान्वयनका लागि कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, दुवै आयोगमा सम्पर्क अधिकृत तोक्ने र प्रत्येक ६ महिनामा समन्वय वैठक गर्ने व्यवस्था रहेको छ।
समझदारीपत्र हस्ताक्षर सम्पन्न गर्नुअघि दुवै पक्षबीच भएको छलफलमा एजेन्टहरुका कारण आप्रवासी श्रमिकहरुले भोग्नु परेका समस्या, मलेसियामा रहेका नेपाली श्रमिकहरुको विभिन्न कारणबाट हुने मृत्यु, आत्महत्या, नेपाली श्रमिक तथा परिवारहरुको न्यायमा पहुँच र अध्यागमन कानुनको प्रक्रियागत सरलीकरणका लागि कानुन पुनरावलोकन जस्ता विषयहरुमा छलफल भएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।