काठमाडौं– नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ।
इन्धन मूल्यवृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
अहिले देशको आर्थिक अवस्था खस्केको र तेल आयातले ठूलो मात्रामा पैसा विदेश पठाउन परेको कुरालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्न सकिने विषयमा आफूहरुले सिफारिस गरेको उनले बताए।
निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव समेत गरेको छ। शनिबारसँगै आइतबार पनि बिदा दिन प्रस्ताव गरेको गरिएको उपाध्यायले बताए।
अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर विजोर लागू गर्न पनि सिफारिस गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।