बम विष्फोट भएको घर
सुनसरी- इटहरी २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा इटहरी डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र उनका साथी लमजुङका २३ वर्षीय शेरजंग गुरुङ छन्।
घाइते थापाको आँखामा चोट लागेको छ। उनको विराटनगरस्थित आँखा अस्पतालमा र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
कोठामा राखेको बम पड्किएको पाइएको प्रहरीले जनाएको छ। ‘बम पड्काएको भन्दा पनि पड्किएको रहेछ, अहिले दुवैजना सुरक्षित छन्,’ जिल्ला प्रहरी कार्यालयका एसपी सन्जयसिंह थापाले भने ‘अरु विषयमा अनुसन्धान हुँदैछ।’
प्रहरी स्रोतका अनुसार त्यहाँ सुतली बम विस्फोट भएको थियो। विस्फोटस्थलमा प्रहरीले ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटाएको छ।
एसपी थापाका अनुसार विस्फोटमै पर्नेमध्येका एक जनाले बम ल्याएका थिए। विस्फोट कसरी भयो र कुन उद्देश्यले बम ल्याइएको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको एसपी थापाले जनाए।
पर्चा भेटिएको हिमाल सुरक्षा परिषद्ले एक महिनाअघि मात्र सशस्त्र युद्धको घोषणा गरेको थियो। यो संगठनले गत फागुन १५ गते एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।
संघीयता खारेज, पाँच विकास क्षेत्र र हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायत माग राखेर यो संगठनले सशस्त्र युद्धको घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।