हेटौँडा- राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ।
कृषि तथा पशुपंक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो। बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपंक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा उनीहरूलाई सम्मान गरिएको हो।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपंक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ।


त्यस्तै, द्वितीय हुने दिदीबहिनी कृषि फार्म भक्तपुरकी गीता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रालि वरीवललाई नगद ४० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ।
त्यसैगरी, चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फार्म रामेछापलाई नगद ३५ हजार तथा पाँचौँ हुने न्यू महाँकाल कृषि फार्म काभ्रेलाई नगद ३० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो।
पुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपंक्षी विकास निर्देशनालयले संकलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।