काठमाडौं- विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रवीन्द्र मिश्रपक्षले यसअघि २६ जनामाथि गरेको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चर्किएको छ।
२६ जनामाथिको कारबाहीपछि सोमबार बिहान असन्तुष्ट पक्षको केन्द्रीय सदस्यहरुको बैठक बसि मिश्रलाई कारबाही गर्ने तयारी गरिएको छ। राप्रपासँगको एकीकरणको विषय चर्चामा रहँदा पार्टी बिवाद चुलिएको छ। मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ।
पार्टीमा विवाद आएदेखिनै संयोजकसमेत रहेका मिलन पाण्डे सहित केशव दाहाल, रन्जु दर्शना, पुकार बम, रमेश पौड्याल लगायत मिश्रको विपक्षमा उभिएका छन्।
तर, अहिले रवीन्द्र मिश्रले साथ् लिएका केहि नेताहरुसँगको आन्तरिक भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको मिश्र पक्षका नेताहरुको दाबी छ।
गण्डकी प्रदेशमा शुशिला केसी अधिकारीलाई र प्रदेश दुईमा धनपति महतोलाई रवीन्द्र मिश्रले नियुक्त गरेपछि पार्टीमा विवाद भएको हो। 'निर्देश सिलवालले गण्डकी प्रदेशमा आफू निकट नेता चाहन्थे, सारथी प्रदेश दुईमा आफू संयोजक हुन चाहन्थे र विराजभक्त श्रेष्ठ बागमती प्रदेशको नेतृत्व हुन चाहन्थे। यो नमिलेपछि विवाद आएको हो' मिश्र पक्षका एक नेताले भने।
आज बैठक बसेर मिश्रलाई कारबाही गर्ने र त्यसको जानकारीमा दिन पत्रकार सम्मेलन गर्ने तयारी असन्तुष्ट पक्षको छ। उक्त पक्ष मिश्रलाई कारबाही गर्न हस्ताक्षर संकलन गरेर निर्वाचन आयोग जाने तयारीमा रहेको जनाइएको छ। मिश्र भने पार्टीमा अनुशासन कायम नराखेको भन्दै असन्तुष्ट पक्षलाई कारबाहीको तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।