धनगढी– सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आइतबारदेखि सुरु भएको छ। ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो।
अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो। अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्वयनको अवस्था, सरकारका काम कारवाही, बजेट तर्जुमा र कार्यान्वयनको अवस्थाका बारेमा गम्भीर ढङ्गले समीक्षा गर्ने समय आएको बताए। उनले प्रतिपक्षीका आवाजलाई नसुनेर सहमति र सहकार्यविपरीत ढङ्गले सरकार अघि बढ्दा जनताका समस्या समाधान हुन नसकेको उल्लेख गरे।
प्रतिपक्षी दल नेकपा (एमाले)का लीलाधर भट्टले केन्द्रको गठबन्धन सरकारका कारण नेपालको आर्थिक अवस्था कमजोर बनेको बताए। जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले चारवर्षे कार्यकाल पूरा गरेको प्रदेश सरकार सबैतिर असफल हुँदा जनतामा निराशा छाएको बताए।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का वीरमान चौधरीले उपलब्ध स्रोत साधनका आधारमा सरकारले जनअपेक्षाअनुसार पर्याप्त काम गरेको दाबी गरे।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गरिन् । अधिवेशनका प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।
सभामुख थापाले प्रदेशसभाले पारित गरेको सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।