काठमाडौं– मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका–३ झापाका २५ वर्षीय सविन विश्वकर्मा, बर्दिबास नगरपालिका–१ महोत्तरीका ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ वर्षीय विशाल विक र र ईटहरी–५ सुनसरीका २४ वर्षीय बादल विक रहेका छन्।
पक्राउ परेको यो समूहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो।
यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसँगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको टोलीले लुटपाटमा संग्लग्नमध्ये ४ जनालाई चाँदीका गहनासहित नियन्त्रणमा लिएको हो।
घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।