काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जारी केन्द्रीय कार्यसमिति बैठकमा धेरैजसो केन्द्रीय सदस्यहरुले चुनावमा तालमेल गर्नुपर्ने पक्षमा सुझाव दिएको बताएका छन्।
केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा पौडेलले केन्द्रीय समितिले तालमेलकै पक्षमा निर्णय गर्ने बताए। पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले भने, 'केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्ने हो। तर, कुन तरिकाले तालमेल गर्ने भन्ने कुरा त तल्ला तहले नै टुंगो लगाउँछन्। सबैजसो केन्द्रीय सदस्यको सुझाव तालमेल गर्नुपर्छ भन्ने छ।'
नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्नेमा दुई पक्ष छन्। सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले तालमेल नगरी निर्वाचनमा जित्न मुस्किल हुने धारणा राखेका छन्। सभापति देउवाले सार्वजनिक रुपमै तालमेल गर्नुपर्ने बताइरहेका छन्। तर, शेखर कोइराला पक्षका नेताहरुले भने तालमेलको विपक्षमा धारणा राखिरहेका छन्। तालमेल गर्दै गइए नेपाली कांग्रेसको अवस्था पनि 'कांग्रेस आई' (भारतीय कांग्रेस)को जस्तो हुने उनीहरुको तर्क छ।
विशेषगरी भरतपुर महानगरपालिकामा तालमेलको विषयलाई लिएर पार्टीभित्र फरक–फरक धारणा आइरहेका छन्। चितवनका नेताहरुले सधैं अर्को पार्टीलाई मत दिन नसिकिने बताउने गरेका छन्।
गत शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो दिन आइतबार पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।