काठमाडौं– चिनियाँ विदेश मन्त्री वाङ यी र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
विदेशमन्त्री यी र माओवादी केन्द्रका अध्यक्ष दाहालबिच आइतबार काठमाडौंस्थित मेरियट होटलमा भेटवार्ता भएको हो।
भेटवार्तामा विदेशमन्त्री यीसँगै उनको तर्फबाट प्रतिनिधि मण्डल र अध्यक्ष दाहालको तर्फबाट पनि प्रतिनिधि मण्डल सहभागी भएको थियो।
भेटवार्ताको क्रममा माओवादी केन्द्रले बीआरआईलगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिनुपर्ने विषयमा चर्चा गरेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए।
त्यस्तै, दुई देशबीचको व्यापार घाटालाई सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको उनले बताए।
‘हाम्रो पार्टीको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धहरुको बारेमा, दुई पार्टीहरुका बीचका सम्बन्धहरुका बारेमा चर्चा भयो। कोभिडको महामारीमा चीन सरकारको तर्फबाट गरिएको सहयोग, नेपालको पूर्वाधार निर्माण लगायतका विकास प्रयासहरुमा चीनका तर्फबाट गरिएका सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्ने कुरा भयो’, बस्नेतले भने, ‘त्यसैगरी बीआरआई लगायतका जो परियोजनाहरु छन्। त्यसको कार्यान्वयनका निम्ति आवश्यक पहल बढाउनका निम्ति लिने पहलकदमीको बारेमा चर्चा भयो।’
माओवादी केन्द्रले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन पार्टीको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने पनि बताएको छ। त्यसैगरी, चिनियाँ पक्षले दुई देशबीचको पुरानो र ऐतिहासिक सम्बन्धको चर्चा गर्नुका साथै नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरेको नेता बस्नेतले बताए।
चिनियाँ विदेशमन्त्रीले चीन र नेपालबीचको सम्बन्ध छिमेकीको रुपमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको माओवादी केन्द्रका नेता बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।