काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने पक्षमा माहोल बनेको छ। बैठकमा बोल्ने अधिकांस नेताहरुले गठबन्धन गर्नुपर्ने, तर त्यसको मापदण्ड र अधिकारका विषयमा छलफल गर्न सुझाएका छन्।
कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाका अनुसार दलका नेताहरुलाई जिताउन नभइ संविधान मिच्ने शक्ति (नेकपा एमाले)लाई हराउन गठबन्धन गर्नुपर्ने नेताहरुले बताएका छ्न्।
बैठककै बीचमा बाहिरिएका उनले पत्रकारसँग बोल्दै भने, 'अहिले सुझावहरु गठबन्धन गर्नुपर्छ भन्ने नै धेरै छन्। पार्टीले गठबन्धन गरेरै जान्छ भन्ने धेरैको बुझाइ छ। बैठकको परिदृष्य त्यस्तै देखिन्छ। नीति र मापदण्डमा भने छलफल हुनुपर्ने धारणा छ।'
गठबन्धन बनाउँदा केन्द्रबाटै छुट्याउनेभन्दा पनि स्थानीय तहलाई अधिकार दिनुपर्ने माग नेताहरुले गरेका छन्। मतभार हेरेर नेतृत्व दिने मोडेलमा गठबन्धन गर्न सकिने नेताहरुको भनाइ रहेको र आफू पनि त्यसमा सहमत भएको थापाले बताए।
उनले भने, 'संविधानको सफल कार्यान्वयन, विधिको शासन र प्रजातान्त्रिक संस्कारका लागि गठबन्धन बनेको हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन राष्ट्रिय आवश्यकता हो।'
एकपटक स्थानीय, प्रदेश र संघीय चुनावमा गठबन्धन गर्नुपर्ने धारणा आफूले राखेको थापाले बताए। 'रगतपसिना बगाएर ल्याएको संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक छ। गठबन्धन गर्दै गर्दा स्थानीय तहको आवश्यकतालाई मध्यनजर गर्नुपर्ने हुन्छ,' उनले थपे, 'मतभारका आधारमा प्रमुख र उपप्रमुखको नेतृत्व गर्नुपर्छ। सवैको सुझाव त्यही छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।