काठमाडौं– नेकपा (एमाले)ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ।
नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीसँगको भेटका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो आग्रह गरेका हुन्। भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिनसमेत आफूहरुले आग्रह गरेको एमाले नेता राजन भट्टराईले बताए।
तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि समेत एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको भट्टराईले बताए। एमालेको आग्रहलाई सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको विदेशमन्त्री वाङले बताएको भट्टराईले जानकारी दिए।
चीन सरकारको सहयोगमा सञ्चालित परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो।
भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताको सहभागिता थियो। चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।