काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस समितिले उजुरी सुन्ने समितिलाई पत्र पठाएको छ। उजुरी सुन्ने समितिले सोधेका प्रश्नको जवाफ तथा प्रतिक्रियासहितको पत्र गत शुक्रबार पठाएको प्रहरी हेडक्वाटर स्रोतले जानकारी दिएको छ।
उजुरी सुन्ने समितिले बढुवा समितिलाई जवाफ पठाउन निर्देशन दिएको तीन दिनभित्र जवाफसहितको पत्र पठाउनुपर्ने प्रावधान भएकाले शुक्रबार जवाफ पठाइएको हो। जवाफमा तीन जनालाई बढुवा सिफारिस गर्नुपर्नेबारे उल्लेख गरिएको स्रोतको भनाइ छ।
थप गरिएको तीन एआईजी दरबन्दीमा फागुन १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर आफूभन्दा जुनियर डीआईजीलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। उनीहरूले आफूभन्दा जुनियर डीआईजी धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरिएको उल्लेख गर्दै उजुरी दिएका थिए।
उजुरी परेपछि गत मंगलबार उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिलाई पत्र पठाएको थियो।
दफा ४२ को नियम ३ को उपनियम १ मा बढुवा सिफारिस समितिले पठाएका आधारहरूको मूल्यांकन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा त्यो नखुलाई पठाएको खण्डमा त्यस्तो कारण र आधार खुलाई पठाउन भनेर पुनः पत्राचार गर्न सकिने नियमावलीमा उल्लेख छ।
कार्यसम्पादन मूल्यांकनमा हाल बढुवा सिफारिस गरिएका डीआजीईहरू नै अगाडि रहेको बढुवा सिफारिस समितिले उजुरी सुन्ने समितिलाई पठाएको खण्डमा त्यसमा समेत चित्त नबुझेको अवस्थामा के–के आधारमा उनीहरूको कासमू बढी भयो त्यो समेत खुलाई पठाउनुपर्ने व्याख्याको उपनियम १ ले गरेको जानकारहरूको भनाइ छ।
उजुरीको टुंगो लागेपछि बल्ल बढुवा समितिको सिफारिस कार्यान्वयनमा आउने बाटो खुल्छ।
कुनै उम्मेदवारले प्राप्त गर्नुपर्ने अंक प्राप्त नगरेको तथा प्राप्त नगर्ने अंक प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिलाई लिखित निर्देशन दिने र त्यस्तो निर्देशनअनुसार पुनः बढुवा सिफारिस गर्नुपर्नेसम्म नियमावलीमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।