काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रधानमन्त्री छँदा उनको दिमागमा बंगलादेश चलिरहेको बताएका छन्। बंगलादेश धाँधलीपूर्ण चुनाव र नतिजाको लागि बदनाम छ। प्रधानमन्त्री छँदा ओलीले पनि सोही शैली अपनाउन खोजेको अध्यक्ष नेपालको आरोप छ।
'उनले बालुवाटारमा घर बनाए। त्यहाँ बंकर पनि बनाएका छन्। बंकर किन बनाएका होलान्? नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानी गर्नुभयो। भनेपछि, उनको दिमागमा बंगलादेश चलिरहेको थियो। चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै छ। निर्वाचन आयोगले घोषणा गर्ने,' आइतबार समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने।
ओलीले पुस ५ गते विघटन गर्ने, चुनावको घोषणा गर्ने, दुई तिहाइभन्दा बढी ल्याउने, कसैलाई चित्त बुझेन भने अदालतमा जाने र अदालतबाट उल्टाइदिने योजना बनाएको उनको भनाइ छ। 'अदालत आफ्नै छ। निर्वाचन आयोग आफ्नै छ। सम्पत्ति शुद्धीकरण लगाइदिन्छु। त्यस्तै केही भयो भने राजस्व अनुसन्धानलाई खट्न लगाइदिन्छु। व्यापारी छन् भने त्यहीँ सकियो। अरु कोही छन् भने छानबिनबाट त्यसपछि झुन्डिरहेका हुन्छन्, सामाजिक प्रतिष्ठा पनि खत्तम पारिदिन्छु। साइबर स्याल बनाएकै छ। साइबर स्यालले तथानाम कुप्रचार गर्छ,' नेपालले भने।
अहिले पनि ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावमा कुनकुन न्यायाधीशलाई कहाँकहाँ खटाउने भन्नेदेखि लिएर अर्को प्रहरीको मान्छेलाई बोलाएर कुनकुन प्रहरीलाई कहाँकहाँ खटाउने सबै वर्कआउट गरेको नेपालको आरोप छ। 'त्यो सबै सरकारले थाहा पाएको हुनाले सरकारको एजेन्सीको माध्यमबाट मैले पनि जानकारी पाएँ,' उनले भने।
ओलीको शैली महाभारतका पात्र रावणदेखि जर्मनीका तानाशाह हिटलरसम्म मिल्ने नेपालको भनाइ थियो। 'केपीको बारेमा चर्चा गर्दाखेरि ठ्याक्क रावणमा केके प्रवृत्तिहरु देखिए। पौराणिक साहित्यको अध्ययन गर्ने मान्छेले खोजे हुन्छ। कंशमा केके प्रवृत्तिहरु देखियो। शिशुपालले सय वटा केके अपराध गर्यो। हिटलरले केके गरेको थियो। त्यसलाई तुलनात्मक अध्ययन गरेर केपीलाई देखाउनुस्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।