काठमाडौं– भक्तपुरमा डलर देखाएर ठगी गर्ने क्रममा एक जनाको ज्यान गएको छ । प्रहरी सहायक निरीक्षकसहित तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटना होलीको अघिल्लो दिन चैत २ गतेको भए पनि अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका रेशम बुढाथोकीले सस्तो दरमा नेपाली रुपैयाँमा डलर साटिदिने भन्दै दुई युवालाई चागुँनारायण बोलाएका थिए।
आठ लाख रुपैयाँ बोकेर डलर साट्न कैलालीको गोदावरी नगरपालिका–२ घर भएका वीरेन्द्रबहादुर खड्का र मकवानपुरका सुरेश न्यौपाने चाँगुनारायण पुगेका थिए। आठ लाख रुपैयाँ लिएर रुमालले बाँधेको पोको रमेशले खड्का र न्यौपानेलाई दिए। रमेश आठ लाख रुपैयाँ लिएर आफ्नो बाटो लागे। रुमालको पोको फुकाएर खड्का र न्यौपानेले हर्दा बाहिरपट्टी डलर थियो भने भित्र डलरकै आकारका कागजाका टुक्रा थिए । त्यसपछि उनीहरुले आफू ठगिएको भन्दै रमेशलाई पक्राउ गरेर पिट्न थाले।
निर्धात कुटपिट गर्न थालेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी प्रभाग साँखुबाट आएको असई दिलीप खड्काको टोलीले उनीहरु दुई जनालाई नियन्त्रणमा लियो। घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो । उपचारकै क्रममा रमेशको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी राजु पाण्डेले बताए ।
त्यसपछि पक्राउ परेका दुई जनामाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको डिएसपी पाण्डेले बताए । गम्भीर घाइते भएको जानकारी आएपछि घटनास्थल गएका असई खड्काले भने आठ लाख रुपैयाँ र केही डलर समेत बरामद गरो थिए। तर, बरामदी मुचुल्कामा भने खड्काले डलर नदेखाएकाले उनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी पाण्डेले बताए। खड्कालाई भने ठगीको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
मुचुल्कामा नदेखाएकाले डलर असई खड्काको घरबाट समेत बरामद भएको पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।