काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ राज्यपरिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले नेपाललाई भू–राजनीतिक खेलमा संलग्न गर्ने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताएका छन्।
नेपाली समकक्षी नारायण खड्कासँगको भेटमा उनले हालै पारित भएको एमसीसीको नाम उच्चारण नगरी यस्तो टिप्पणी गरेका हुन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको चीनले विरोध गर्ने चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बताउनु भएको छ।’
दुई देशको अन्तर्राष्ट्रिय वा घरेलु परिस्थिति जतिसुकै परिवर्तन भए पनि चीन दुई देशका नेताहरूले तोकेको दिशामा साझा भविष्यसहितको चीन–नेपाल समुदायलाई प्रवर्द्धन गर्न प्रयासरत रहको वाङले बताएका छन्।
चीनले नेपालको राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्ग खोज्न सहयोग गर्ने वाङले बताए। जनताको आधारभूत र दीर्घकालीन हितका लागि नेपालका सबै दल र गुटलाई समावेशी परामर्शमा सहभागी हुन प्रोत्साहित गर्ने उनको भनाइ छ।
वाङले देशका सबै दलले राजनीतिक स्थायित्व, आर्थिक वृद्धि र जनताको जीविकोपार्जनका लागि उपयुक्त सुशासन मोडललाई संयुक्त रूपमा खोज्नुपर्ने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
केही समयअघि मात्र नेपालको संसदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) पारित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।