काठमाडौं– सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने धनकौल गाउँपालिका –५, पासवान बस्तीमा शनिबार दिउँसो आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ। दिउँसो १ बजेपछि स्थानीय प्रदीप पासवानको घरबाट अचानक सुरु भएको आगलागीले बस्तीका १३ वटा घर जलेर खरानी भएको हो।
आगलागीमा परेर प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका –५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए। आगलागीबाट जलेका अधिकांश घर फुसको छानो भएका रहेका छन्।
आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको छ। आगलागीको कारण स्पष्ट भइसकेको छैन। शनिबार दिउँसो तीव्र गतिमा हावा चलेको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताए।
आगलागी स्थानीयवासी, सुरक्षाकर्मीसहित सदरमुकाम मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए।
प्रनाउ यादवका अनुसार आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।