काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘वधिक’ को संज्ञा दिँदै सत्तामा रहिरहन नहुने बताएका छन्। पोल्याण्डको वार्समा शनिबार राति सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनमा रुसले ‘नरसंहार’ र ‘अत्याचार’ गरिरहेको बताउँदै समकक्षी पुटिनलाई ‘वधिक’को संज्ञा दिएका हुन्।
सम्बोधनको क्रममा वाइडेनले रुसी राष्ट्रपति पुटिननजिक रहेका व्यक्तिहरुलाई उनलाई सत्ताबाट हटाउन आग्रह गरेका छन्। ‘दमनकारी, हत्यारा, तानाशाह र आफ्नै लगायत धेरै देशहरूमा युद्ध अपराध गरेको व्यक्ति नेतृत्वमा छ,’ उनले भने,‘ यस्तो शासन परिवर्तन भन्दा अरू केको आशा राख्नु र? भगवानका खातिर, यो मानिस सत्तामा रहिरहन हुँदैन।’
यता, अमेरिकी अधिकारीहरुले रुसी राष्ट्रपति पुटिनले युक्रेनी भूमिमा कायम गरेको या गर्न खोजेको शक्ति गुमाउनु पर्ने सन्देश दिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति वाइडेनको उक्त टिप्पणीको जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने या नरहने भन्ने निर्णय वाइडेनको नभई रुसी नागरिकको रहेको बताएको छ।
क्रेमलिनका प्रवक्ताले भने, ‘ पुटिन सत्तामा रहने या नरहने निर्णय वाइडेनले लिने बिषय होइन। रुसी जनताले पुटिनलाई चुनेका हुन्। उनलाई सत्तामा राख्ने या नराख्ने रुसी जनताले नै निर्णय गर्ने छन्।
वाइडेनले सम्बोधन गर्दै गर्दा युक्रेनको सबैभन्दा बढी पश्चिमा समर्थित शहर ल्भिभमा रुसले मिसाइल प्रहार गरेको थियो। ल्भिभ पोल्याण्डको सीमाबाट मात्रै ४० दुरीमा रहेको छ।
रुसले तीनवटा मिसाइल आक्रमण गरेको थियो। एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको थियो। यस क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसी मिसाइल आक्रमणले इन्धन स्टोर र कारखानामा क्षति पुगेको बताएका छन्। आक्रमणमा पाँचजना घाइते भएको युक्रेनी अधिकारीहरुले बताएका छन्।
यो सहर देशका अन्य भागहरूबाट आएका सयौं शरणार्थीहरूको लागि केन्द्र बनेको छ। मेयर एन्ड्री साडोभीले ल्भिभमा भएको आक्रमण अमेरिकी राष्ट्रपति जो वाइडेनका लागि रुसी सन्देश रहेको बताएका छन्।
‘मलाई लाग्छ आजको आक्रमण आक्रमणकारी (रुस)ले राष्ट्रपति वाइडेनलाई पठाएको सन्देश हुन सक्छ, जो अहिले पोल्याण्डमा छन्।,’ उनले भने,‘मलाई लाग्छ पूरा विश्वले थाहा पाइसक्यो होला कि जोखिम कति गम्भीर छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।