काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन्।
शनिबामर नुवाकोटको शिवपुरी गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा यो कार्यक्रमबाट कुनै दीर्घकालीन काम नभइ रकम मात्र दुरुपयोग भएको बताएका हुन्। ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको १९÷२० अर्ब रकम दुरुपयोग भएको छ,’ उनले भने, ‘यसबाट कुनै रोजगारी सिर्जना भएको छैन।’
ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनलाग्र्दी तरिकाले सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो।
प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने आफ्नो पार्टीका मान्छेलाई मात्र दिने गरिएको आरोपसमेत लगाए। कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले बताए।
ओली सरकारका पालमा कयौँ अनियमिता भएकै कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको उनले बताए।
भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनको भनाइ थियो।
आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै उनले कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रहसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।